चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८०, आईतवार ०५:५७

चितवन। दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।

 

सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे । अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उनले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताए ।

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ । बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उनले जानकारी दिए ।

सङ्घका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताए । उनले भने, “डिडिसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन । अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ ।”

यही अवस्था रहेमा किसानले चाडपर्वको मुखमा आन्दोलन गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । सङ्घमा अहिले एक सय १५ सहकारी आबद्ध रहेको जानकारी दिँदै उहाँले यी सहकारीबाट कम्पनीले दूध उठाउन नसक्ने जानकारी दिन थालेको उनले बताए ।

उनले भने “किसानले दूधको पैसा नपाउने र दूध बजारमा पनि नजाने हो भने यसले ठूलो समस्याको रुप लिन्छ । यसैले सबैले चार्डपवमा घरघरमा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर सहयोग गर्नुप¥यो ।”

सचिव कल्याण अधिकारीले सरकारले छिमेकी नाकाबाट आउने दूधको नियन्त्रणमा चासो नदिनुका कारण यहाँको दूधले बजार नपाएको गुनासो गरे।

उनले भने, “राज्यका निकायले नेपाली दुग्धजन्य वस्तुको खपतमा ध्यान दिन जरुरी छ । अन्यथा किसान पलायन हुने अवस्था आउँछ ।” विद्यालयको दिवा खाजा, सुरक्षा निकायका कार्यालय अन्य सरकारी कार्यालयले दुग्धजन्य वस्तुको खपतमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१