सरकार आफैँले सुन तस्करी गरिरहेको छ : पूर्वप्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८०, आईतवार ०६:४१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।

‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । यहाँ ब्रेक सुमा सुनैसुन । वेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन’ ओलीले व्यंगात्मक शैलीमा भने, ‘स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरि स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ । उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।’

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको आरोप छ । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए ।

‘चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ’ उनले भने, ‘धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदि इत्यादि छ भन्न सकिँदैन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१