भ्रष्टाचार प्रकरण : थापा पत्नीले किन दिइन् आयोगमा निवेदन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८०, शुक्रबार ०५:४२

काठमाडौँ । पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले शक्तिकेन्द्रमा दौडधुप बढाएकै बेला उनकी श्रीमती सुमित्राले समेत राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको खुलेको छ ।

आफ्नो श्रीमानको ज्यान जोखिममा परेको भन्दै उनले बिहीबार आयोगमा उजुरी दिएकी हुन् । दर्ता नम्बर ७६६ रहेको निवेदनमा उनले ‘मेरो परिवारको ज्यान सुरक्षा गरी मानव अधिकारको रक्षा गरी पाउँ’ भन्दै अनुरोध गरेकी छन् ।

उनले श्रीमानले कुनै गल्ती नगरे पनि अख्तियारले मुद्दा चलाउने धम्की दिएर सामाजिक मर्यादामा आँच पुर्याउन खोजेको निवेदनमा जिकिर गरेकी छन् । यतिमात्रै होइन उनले श्रीमानले आत्महत्या गर्ने कुरा गर्न थालेको भन्दै जिउज्यानको सुरक्षा माग गरेकी छन् ।

‘अख्तियारले सुन पुगेको हुँदाहुँदै पनि सत्य कुरामा पूर्वाग्रही ढंगबाट बनावटी दोष लगाउँदै मुद्दा चलाउने धम्की दिएको कुरा बताउनुभएको थियो भने उहाँले यस कुरामा आफ्नो गल्ती नभएको र सुनको जलहरी सबै यथार्थ भइसकेकोले आफू दोषी नरहेको जनाउँदै गर्दा उहाँको ईज्जत र प्रतिष्ठा मात्रलाई असर पुर्याउन मुद्दा दायर गर्न लागेकोमा उहाँलाई मानसिक तनाव भई विभिन्न स्थानमा न्यायका लागि गुहार गर्दै हिँड्नुभएको छ’, उनले आयोगमा दिएको निवेदनमा उनले भनेकी छन्, ‘त्यसैको कारण उहाँ हाल घरमा बस्दा आफूले सत्य काम गर्दा पनि न्याय नपाई आफूलाई अख्तियारले दोषी करार गर्न खोजेको भन्दै आफू मन्दिरमा हात्महत्या गर्छु भन्न थाल्नुभएको छ । विभिन्न सरकारी निकायमा पनि आफूले राज्यबाट न्याय नपाई इज्जतमा मात्र दाग लाग्ने गरी मुद्दा दायर गरेमा मर्छु भन्दै अपिल गरेको समाचार पढेपछि मेरो पतिको जीवन रक्षाका लागि राज्यको तर्फबाट न्याय दिन अपिल गर्न चाहन्छु ।’

सुमित्राले श्रीमानको आवश्यक सुरक्षा, जीवन रक्षा र मानव अधिकार रक्षाका लागि पहल गर्न आयोगसँग आग्रह गरेकी हुन् । यसअघि नै थापाले अख्तियारले पूर्वाग्रहीपूर्ण ढंगले मुद्दा दायर गर्ने तयारी गरेको जिकिर गर्दै राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म निवेदन दिएका थिए ।

थापाले असोज २ मा सत्यतथ्य छानबिनको माग गर्दै राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयमा निवेदन दिएका हुन् । पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा वि.सं १८३८ मा रणबहादुर शाहको पालामा चाँदीको जलहरी स्थापित भएको र उक्त चाँदीको जलहरी पछि २०२४ सालमा मर्मत गरिएको थियो ।

शिवलिंगको पिठिकामा राखिएको चाँदीको जलहरीमा धेरै फाटेर दैनिक पञ्चामृत पूजा गर्दा उक्त पदार्थ छिर्न गई गर्भगृह नै गन्ध आउने भएपछि चाँदीको भागभन्दा माथि २०७७ सालको शिवरात्री ताका सुनको जलहरी स्थापना गरिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल फागुन १२ गते विशेष पूजा गरी जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी स्थापना गरेकी थिइन् ।

सुनको जलहरी १०८ केजीको राख्ने योजना अनुसार नेपाल राष्ट्र बैकबाट १०३ किलो ७७३.१०० ग्राम सुन खरिद गरिएको थियो । जसमा घोटाला भएको भन्दै अख्तियारले छानबिन गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१