चालु आर्थिक वर्षको दुई महिनामा बजेट खर्च एक खर्ब ३१ अर्ब, राजस्व सङ्कलन कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८०, मंगलवार ०५:५३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।

सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ । यो शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ । मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ । पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ ।

यहि अवधिको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ ।

कर राजस्व वार्षिक लक्ष्यको नौ दशमलव आठ प्रतिशत अर्थात एक खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैरकर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् १३ अर्ब १२ करोड बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१