‘नविनले कुटेपछि रिस थाम्न सकिनँ अनि ४ जनाको हत्या गरेँ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०८०, सोमबार ०६:२२

काठमाडौँ । चाबहिल चोकमा गत जेठ महिनामा एकजना अपरिचित युवकको मोटरसाइकलले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई ठक्कर दिएको थियो । ठक्कर दिने युवक थिए, धनकुटा भिरगाउँ गाउँपालिका–२ घर भएर गैह्रीगाउँस्थित दिव्या सःमिलमा काम गर्ने १९ वर्षीय नविन राई ।

सो ठक्करबाट शुरु भएको ‘विवाद’ र ‘रिसिबी’का कारण नविन र उनीसँगै दिव्या सः मिलमा बस्ने दोलखाका कुमार भुजेलको ३ जनाको परिवारको विभत्स हत्या भएको छ । हत्यामा संलग्न आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–९ घर भएका २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए । बाह्रबिसेमा बोल्न नसक्ने (फरक क्षमता) भएका भएकाहरु पढ्ने स्कुलमा पढेर उनी काठमाडौँ आएका थिए । नक्सालमा ब्रेल लिपिको माध्यमबाट सञ्जयले १२ कक्षा सम्मको पढाई पुरा गरेका छन् ।

भदौ २९ मा मध्यराति गैह्रीगाउँस्थित दिव्या सः मिलमा गएर ४ जनाको हत्या गरेको सञ्जयले स्वीकारेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले  बताए । हत्यापछि सञ्जय हातमुख र खुकुरी धोएर गैह्रीगाउँबाट भाग्दै काँडाघारीस्थित बीरेन्द्रचोक पुगेका हुन् ।

सञ्जयले हत्यापछि सः मिलको गेट बाहिर बत्ति बलेको थाहा पाएर मिलको पछाडीको बाटोबाट हाम्फालेर भागेको बयान दिएका छन् । उनीसँग ४ जना अनुवादकको सहयोगमा प्रारम्भिक सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

साँझ ९ बजेतिर काठ मिलको पछाडिबाट चढेर भित्र गएको र त्यहाँ नविनले आफुलाई थप्पडले हिर्काएको सञ्जयले बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–‘भित्र गएर सोफामा बसेको थिएँ, नविन आएर मलाई थप्पड हानेपछि रिस थाम्न सकिनँ ।’

जेठमा भएको दुर्घटनाबारे कुरा गर्ने र उपचार खर्च लिने भन्दै काठ मिलमा गएका अरोपितले दिदि–भिनाजुको घरबाट नै खुकुरी लिएर गएको थाहा भएको छ । ‘निहुँ खोजेमा छप्काउने भनेर सञ्जयले झोलामा खुकुरी बोकेर गएको देखिन्छ’ एसएसपी राठौर भन्छन्– ‘घटनामा प्रयोग गरिएको खुकुरी हामीले बरामद गरेका छौं ।’

अनुसन्धान अधिकृतहरुले किन चार जनालाई हत्या गरेको भन्ने जिज्ञासामा आरोपितले भनेका छन्–‘मलाई मिडियामा देखाउँछन भन्ने लाग्यो अनि, अगाडि आएका सवैलाई खुकुरीले हानेँ ।’ सः मिलभित्र कोठाको सोफामा बसेका सञ्जयले सबैभन्दा पहिला नविनको हत्या गरेका थिए ।

नविनको हत्या गरेपछि ७६ वर्षीया सुभद्रा भुजेल, उनका छोरा ५६ वर्षीय कुमार भुजेल र अन्तिममा ५० वर्षीया अम्बिकालाई हत्या गरेर उनी त्यहाँबाट भागेको अनुसन्धानबाट थाहा भएको छ । कुमार भुजेलकी पत्नी हुन् अम्बिका ।

हत्या गरेर उनले शुभद्राको शव सःमिलको गोदाम छेउमा, कुमारको शव शौचालय छेउमा र अम्बिकाको शव कल नजिकै घिसार्दै लगेर व्यवस्थापन गरेको आरोपितले स्वीकारेका छन् ।

राति ९ बजेर ४५ मिनेट र १० बजेर १५ मिनेटमा चार जनाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यसपछि सञ्जय हिँडदै काँडाघारीस्थित दिदि भिनाजुको घरमा पुगेका हुन् । राति करिब १ बजेतिर उनी काँडाघारीस्थित वीरेन्द्र चोकमा पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१