प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०८०, शुक्रबार ०६:२७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा परेको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा यो सुरुङमार्गलाई मुख्य प्राथमिकतामा राखेको हो ।
मन्त्रालयले चीन भ्रमणमा राख्नुपर्ने मन्त्रालय मातहतका एजेन्डा तय गरेर परराष्ट्रतर्फ पठाइसकेको छ । चीन भ्रमणका लागि भनेर भौतिक मन्त्रालयले मुख्य ४ एजेन्डा प्राथमिकताामा राखेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भौतिक मन्त्रालयबाट आएको चीन भ्रमणको एजेन्डामा ४ किलोमिटर लामो टोखा–छहरे सुरुङमार्ग निर्माण मुख्य एजेन्डामा छ ।
प्रधानमन्त्री दाहाल न्यूयोर्कको भ्रमण सकेर उतैबाट चीन पुग्ने कार्यतालिका बनेको छ । सो भ्रमणका लागि विभिन्न मन्त्रालयले आ–आफ्ना योजना र एजेन्डा अघि बढाइरहेका छन् ।

चीन भ्रमणका क्रममा अनुदान र सहुलियतपूर्ण ऋण सहयोगमा आयोजना अघि बढाउने सम्बन्धित मन्त्रालयहरुको योजना छ । सो अनुसार, योजना बनाउँदै परराष्ट्र पठाइरहेका छन् ।

‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा टोखा–छहरे सुरुङमार्गलाई प्राथमिकतामा राखेर भौतिकबाट एजेन्डा आएको छ,’ स्रोतले भन्यो, ‘अब मन्त्रालयले आवश्यक छलफल गरेर कुन आयोजना राख्ने/नराख्ने निक्र्यौल गर्छ ।’

नेपाल र चीन सरकार टोखा–छहरे सुरुङमार्ग बनाउँदै चीनतर्फको उत्तरी व्यापारिक नाका रसुवागढी–केरुङलाई मजबुत बनाउन चाहन्छन् । यो व्यापारिक मार्ग तातोपानीपछि चीनसँग सडकमार्ग जोड्ने दोस्रो मार्ग हो ।

सुरुङमार्गका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ४२ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । यो आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।
हाल टोखा–छहरे सुरुङमार्ग आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको भौतिक मन्त्रालय बताउँछ । चीन सरकारसमेत ऋण सहयोगमा यो सुरुङमार्गको काम अघि बढाउनका लागि तयार देखिएको छ ।

चिनियाँ टोली २०७६ सालमै टोखा–छहरे सुरुङमार्गको फिल्ड सर्भेका लागि आएका थियो । तत्कालीन समयमा चिनियाँ राष्ट्रपति सी जिङ पिङ सामु नेपालले टोखा–छहरे सुरुङमार्ग बनाउन प्रस्ताव गरेको थियो । सो प्रस्तावमा सी सकारात्मक देखिएपछि टोली काठमाडौं आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१