एमसिसीसम्म आउँदा लगभग माओवादीको राजनीतिक अडान पूर्णरूपमा धुलिसात भयो जिमि लामा (विश्व)

evccfn@gmail.com' rastriyakhabar
२६ भाद्र २०८०, मंगलवार २२:००

संसार हल्लाउने दस वर्षे जनयुद्ध नेपाली राजनीतिक इतिहासकाे एउटा गाैरवगाथा हाे । जनयुद्धबाट थुप्रै उपलब्धि स्थापित पनि भएका छन् । नाममात्रको भएपनि गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीका कुरा सुन्दा कर्णप्रिय जति छन् व्यवहारमा त्यस्तो छैन, याे अर्काे पाटाे भयाे । यति उपलब्धिकाे रक्षा पनि गर्नु हामी सबैको दायित्व हाे ।

मूलतः २०५२ देखि ०६४ सम्म माओवादी आन्दोलन सही दिशामा थियाे । सशस्त्र समय १० वर्ष र शान्तिपूर्ण संघर्ष करिब पाँच वर्ष माओवादी आन्दाेलन सही मार्गमा थियाे । म आफै संलग्न जनयुद फर्केर हेर्दा करिब १५ वर्ष गाैरवपूर्ण देखिन्छ । माओवादी जब शान्ति प्रक्रियामा आयाे र सहरी वातावरणमा घुलमिल हुन थाल्याे तब उसले हिजाे ग्रामीण भू-भागमा जनताको गाँस काटेर खाएको बिर्सँदै गयाे । शान्ति प्रक्रियाकाे केही वर्षमा नै माओवादीकाे मुल डफ्फा आन्दोलन र जनताको नाराबाट विस्तारै भाग्दै गए । उनीहरू व्यक्तिगत लाभहानी र गतिलाे पद प्राप्त गर्ने छिनाझपटीमा लागे । माओवादीकाे मुल नेताहरु यतिसम्म पुगे कि बेलुकीपख महंगो विदेशी रसपानविना जिउन नसक्ने अवस्थामा पुगे । पूर्वसभामुख महरासम्म आइपुग्दा सबै कुरा छताछुल्ल भइ नै हाल्याे । माओवादी नेतृत्व नाटकीय ढंगबाट फेरिएका हाेइनन् । उनीहरू अन्तर्राष्ट्रिय शक्तिकेन्द्रकाे मतियारकाे रुपमा काम गर्दै जाँदा नांगाे रुपमा बिग्रिँदै गए । पछिल्लो समय एमसिसीसम्म आउँदा लगभग माओवादीकाे राजनीतिक अडान पूर्णरूपमा धुलिसात भयाे । यी सबै विषयमा जनता जानकार छन् ।

माओवादी बिग्रिनुकाे कारण जे-जे देखिए पनि अन्ततः यसले कम्युनिस्ट विचारधारामा गर्न नसकेको विकासले यसले धक्का खाएको हाे । विचारमा विकास गर्न नसकेपछि आफन्त, नातागोता र परिवारवादमा अल्झेर राजनीतिक जाेडघटाउ गर्नाकाे परिणाम हात्तीजत्राे पार्टी मुसामा परिणत भएको छ । अरु त अरु जनयुद्धमा बलिदान दिएका सहिद परिवार, घाइते अपांग र हजारौं इमान्दार कार्यकर्तालाई सडकमा ल्याएर हरिबिजाेग अवस्थामा छाडिदिए । हिजाे जनयुद्धमा रहेका एजेन्डा धमाधम छाेड्नु राजनीतिक स्खलनकाे माओवादीकाे ओरालो श्रृङखला हाे । हाल माओवादी केन्द्रकाे जनजनमा माओवादी घरघरमा माओवादी तीन महिने अभियानले कत्तिको सार्थकता हाँसिल गर्छ । त्याे हेर्न बाँकी छ । याे अभियानले माओवादी प्रति जनताको धारणामा केही परिवर्तन अवश्य आउने देखिन्छ ।

संघीयतामा पनि माओवादीकाे दाेहाेराे रबैया प्रष्ट देखियाे । सामन्ती संस्कारले ग्रस्त नेताहरुले आमउत्पीडित राष्ट्रकाे पहिचानको एजेन्डालाई माछा देखे दुलाे हात सर्प देखे बाहिर हात गरेर धाेका दिए । दस वर्षे जनयुद्धले स्थापित गरेकाे संघीयताकाे मुल मर्म नै हराएपछि अहिले आदिवासी जनजाति र उत्पीडित राष्ट्रहरुले फेरि अर्काे आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । शान्ति प्रक्रियामा आएदेखि हालसम्म माओवादी पटकपटक सरकारमा सामेल भयो । तर, जनपक्षीय काम गर्न सकेन । वस्तुकाे मूल्य एक रुपैयाँ घटेन । उत्पादन केही नहुँदा निकासी लगभग पाँच प्रतिशतमा खुम्च्याे । ९५ प्रतिशत आयातमा भरपर्ने देश परनिर्भर नभएर के हुन्छ ? भाषणमा सीमित राजनीतिक नाराले अहिले जनता वाक्क भएका छन् । पछिल्लो केही महिना यता प्रचण्ड नेतृत्वको सरकारप्रति जनताले राखेको भराेसा अहिले फेरि धमिलो भएको छ । भ्रष्टाचार, तस्करी र विभिन्न काण्डमा काँग्रेस, एमाले, माओवादी नेता धमाधम मुछिन थालेपछि भ्रष्टाचारको अन्य फाइल खुल्नेमा शंका उत्पन्न भएको छ ।

सुशासनको नारा दिएर सरकारको नेतृत्व गरेको माओवादी यदि भ्रष्टाचार काण्डमा निष्पक्ष र निर्भयपूर्वक अगाडि नबढ्ने हाे भने अब नबाैरिने गरि माओवादी काेमामा जाने निश्चित छ । परम्परागत दृष्टिकोण बाेकेर राजनीति गर्नेको माझमा घरको न घाटकाे माओवादी विचार समाजलाई पाच्य हुन्न तब त माओवादीकाे भविष्य अन्याेलग्रस्त छ । यद्यपि, एकीकृत जनक्रान्तिकाे नयाँ विचार श्रृङखलाबाट वैज्ञानिक समाजसम्म जाने बाटाे तय गर्न सकिन्छ । माओवादी आन्दोलनबाट स्थापित उपलब्धिकाे रक्षा गर्दै अब हामीले एकीकृत जनक्रान्तिकाे एजेन्डामा बहस गरेर संघर्षको मार्ग तय गर्नुपर्छ । जसका लागि कमरेड नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा (विप्लव) तयारी अवस्थामा छ ।

माओवादी केन्द्रभित्र रहेको फाेहर मिल्काएर प्रचण्ड ,विप्लव र अन्य क्रान्तिकारी पार्टी र नेता एक भएर अगाडि बढ्नुको विकल्प छैन । वैचारिक हिसाबले धर्मराईरहेकाे माओवादी केन्द्रकाे सुदूरभविष्य अन्याेलग्रस्त हुनुको एउटै कारण व्यक्तिवादमा राजनीतिकाे प्रतिफल खाेज्ने नवसामन्तवादी साेच हाे । सामन्तवादकाे अन्त्य भयाे भनेर संश्लेषण गर्ने, पुँजिवादी क्रान्तिमा लागेको राजनीतिक दस्तावेज बनाउने । तर, आफू चाहि दलाल पूँजिपतिकाे कमिसनमा अरु नेता, कार्यकर्ता र जनतालाई नयाँ-नयाँ सामन्ती प्रवृत्ति पुनरावृत्ति गरिरहने भएपछि माओवादीकाे वर्तमान कसरी बाँचिरहेकाे छ, सहज अनुमान लगाउन सकिन्छ । अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई नियाल्दा पनि नेपालका कम्युनिस्ट एकताबद्ध भएर अगाडि जाने अवस्था निश्चित छैन । जब अन्तर्राष्ट्रिय शक्ति केन्द्रले उसकाे याेजना लागू गर्न थाल्छ कम्युनिस्ट एकता ढिलाे भइसकेको हुनेछ । त्यसैले ठूलाे चुनाैति र केही सम्भावना बीच कम्युनिस्ट शक्ति रहेकाे अवस्था छ ।

माओवादी केन्द्र संसदीय राजनीतिमा विलय भएर अन्ततः सकियाे भने पनि कम्युनिस्ट पार्टीको निरन्तरता राेकिने त छैन । तर, रक्षात्मक अवस्थामा गुज्रनुपर्ने हुन्छ । विज्ञान र प्रविधिको आजको विकसित समयमा मानिसले सूचना छिटो थाहा पाउने र विषयवस्तुबारे तत्काल धारणा बनाउने युग भएकोले वैज्ञानिक समाजवादकाे यात्रा सहज देखिन्छ । याे यात्रामा माओवादी केन्द्र लामवद्ध हुन सक्छ कि सक्दैन याे कुराले उसकाे भविष्य निर्माण हुनेछ । मुख्यतः प्रचण्डमा रहेकाे गतिशील प्रवृत्ति र विप्लव सीमा रहेकाे निष्ठावान कम्युनिस्ट आदर्श आमकम्युनिष्टलाई एकताबद्ध बनाएर लानसक्ने अवस्था आउने निश्चित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१