चिनियाँ राजदूत छन् सोङ्‌को विवादास्पद अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको रहस्यमस्य मौनता ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८०, सोमबार ०५:५२

काठमाडौं । २०७९ पुस २४ गते आफ्नो कार्यभार सम्हाल्न नेपाल आईपुगेका चिनियाँ राजदूत छन् सोङ्ले काठमाडौंमा ओर्लिए लगत्तै नेपाल आउनुको कारणबारे भनेका थिए- ‘थोपा–थोपाले ट्यांकी भरिन्छ र सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने उखानलाई सम्झँदै नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पु¥याउन भूमिका खेल्ने प्रतिवद्धता जनाउँदछु’।

नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पु¥याउन भूमिका खेल्ने बताउँदै आफ्नो पदभार ग्रहण गरेका राजदूत सोङ आफ्नो कार्यभार सम्हालेको ८ महिना पनि पूराहुन नपाउँदै यतिबेला आलोचना र विवादको केन्द्रमा छन् । हत्तपत्त कुनैपनि विषयमा आफ्नो भनाई व्यक्त गर्न नखोज्ने राजदूत सोङले केही दिन पहिले नेपाल र भारतबीच सम्बन्धका बारेमा एउटा विवादास्पद अभिव्यक्ति दिएपछि निकै आलोचित भइरहेका छन् ।

गत शनिबार नेपाल चाइना हिमालय फ्रेण्डसिप, नेपाल नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले नेपाल भारतबीचको सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्रि दिएका थिए । उनले भनेका थिए “दुर्भाग्यवश, तपाईँहरुको भारत छिमेकी छ । तर, भाग्यवश भारत तपाईँहरुको छिमेकी छ, । तपाईँले बिजुली व्यापार घाटामा गर्नुभयो । तपार्ईँहरुको गर्ने उत्पादनमध्ये एक हो– बिजुली । तपाईँहरु सोच्नुहुन्छ बिजुलीले तपाईँको देशमा स्वतन्त्रता ल्याउँछ । त्यसैले नेपाल सरकारलाई मैले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै आएको छु ’।

राजदूत सोङको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै अहिले उनको अभिव्यक्तिको तीव्र आलोचना भइरहेको छ । धेरैले उनले कूटनैतिक मर्यादा भुलेको भन्दै सरकराले तत्काल प्रष्टीकरण सोध्नुपर्ने र चीनलाई आफ्नो राजदूत फिर्ता पठाउन दबाब दिनुपर्ने बताउँदै आएका छन् । कूटनीतिक क्षेत्रका जानकारहरु मात्रै नभएर नेतादेखि सांसदहरुसम्मले चिनियाँ राजदूतको भारतविरोधी अभिव्यक्तिको खण्डण र विरोध गरिरहेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले त उनको अभिव्यक्तिबारे सोधपुछ गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । समिति सभापति राजकिशोर यादवले चिनियाँ राजदूतलाई उनको अभिव्यक्तिबारे विभागीय मन्त्रालयले बोलाएर सोध्नुपर्ने स्पष्ट पारेका छन् । यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश पाइसकेको छ ।

प्रतिनिसभाको हालैको बैठकमा सरकारमा समेत सहभागी सिके राउत नेतृत्वको जनमत पार्टीले चिनियाँ राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेको छ । जनमतका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले संसद्मा बोल्दै चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गरेका थिए । उनले सरकारले तत्काल राजदूतसँग स्पष्टीकरण सोधेर फिर्ता पठाउनुपर्ने माग गरेका थिए । नागरिक समाजको तहबाट पनि चिनियाँ राजदूतको अभिव्यक्तिलाई लिएर कडा विरोध भएको छ । डा. सुन्दरमणि दीक्षित, कुटनीतिज्ञ विजयकान्त कर्णलगायतले त सार्वजनिक रुपमै चिनियाँ राजदूतलाई विभागीय मन्त्रीले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने र नेपालको नीतिविरुद्ध अभिव्यक्ति दिएको जनाउँदै चिनियाँ सरकारलाई पनि नेपाल सरकारले जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सडकखेखि सदनसम्म विरोधका आवाज सुनिरहँदा विभागीय मन्त्रालय परराष्ट्र मन्त्रालय भने यो विषयमा मौनजस्तै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा परराष्ट्रमन्त्री नेपाली कांग्रेसले पाएको छ । परराष्ट्रमन्त्रीमा कांग्रेसका प्रभावशाली नेता एनपी साउद छन् । तर, उनले उक्त विषयमा कुनैपनि प्रतिक्रिया जनाएका छैनन् । कांग्रैसबाटै परराष्ट्रमन्त्री भइसकेका नेता डा. नारायण खड्का तथा प्रभावशाली नेताहरु शशांक कोइराला, शेखर कोइराला, रामहरी खतिवडालगायतले चिनियाँ राजदूतले कूटनैतिक सीमा नाघेको भन्दै आपत्ति जनाईरहँदा परराष्ट्र मन्त्रालय र विभागीय मन्त्री भने मौन रहेका छन् । मन्त्री साउदको मौनतालाई लिएर विभिन्न कोणबाट चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड आगामी साता संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन अमेरिका जाँदैछन् । दाहाल अमेरिकाबाट सीधै चीन भ्रमणमा जाने निश्चित् भइसकेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर सरकार र परराष्ट्र मन्त्रालयले माहोल बिग्रन सक्ने देखेर नै राजदूत सोङको अभिव्यक्तिप्रति कुनै प्रतिक्रिया नजनाएको चर्चा छ ।

उच्च स्रोतले बताए अनुसार प्रधानमनत्री दाहालले आफ्नो चीन भ्रमणका क्रममा यसपटक महत्वपूर्ण केही सम्झौताहरु गर्ने तयारी गरेका छन् । भ्रमणको मुखैमा राजदूतको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदा माहोल बिग्रसक्नेतर्फ सरकार सचेत रहेको हुँदा प्रधानमन्त्रीको भ्रमणअधि राजदूतको विवादास्पद अभिव्यक्तिप्रति मौन रहने नीति लिइएको हो ।तर, कुनै देशको एक राजदूतले अरु देशसँगको सम्बन्धलाई जोडेर विवादस्पद अभिव्यक्ति दिनु नेपाललाई हेपेको भनेर टिकाटिप्पणी सुरु भैसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१