प्रचण्ड अमेरिका उड्न ठिक्क परेको बेला शेखरले भने–कांग्रेस नेतृत्वमा सरकार आवश्यक छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०८०, आईतवार ०६:२९

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस नेतृत्वको सरकार बनेमात्रै अहिलेको अराजकता र जनतामा देखिएको निराशा हट्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) मिडियाकर्मीहरुसँगको लामो छलफलमा कोइरालाले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्न लागेको समयमा कोइरालाले आफ्नो दलको नेतृत्वमा सरकार बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

‘सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्छ। मैले एक स्टेप अघि बढेर सभापति शेरबहादुर देउवा भएकै कार्यक्रममा केही दिनअघि यो कुरा राखेको थिएँ’, देउवासँग आफूले राखेको प्रस्ताव स्मरण गराउँदै कोइरालाले भने–‘कांग्रेस नेतृत्वमा सरकार भयो भने मानिसहरूलाई कम्तीमा प्रजातन्त्र त बाँच्छ भन्ने लाग्छ। अहिले जति अराजकता छ, कांग्रेस नेतृत्वमा सरकार बनेपछि त्यो घट्छ भन्ने मलाई विश्वास छ। निमिट्यान्न नभए पनि आधा त घट्ला! हामी ९ मन्त्रालयसहित अहिलेको सरकारमा छौं। तर जनता र कार्यकर्तालाई सरकारमा भएको अनुभूति भएको जस्तो मलाई लागेको छैन।’

कोइरालाले कांग्रेस–माओवादीलगायतको अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर कांग्रेसले सरकारको नेतृत्व लिनसक्ने दाबी पनि गरे । उनले भनेका थिए,‘अहिलेकै गठबन्धन निरन्तर रहने गरी कांग्रेसले सरकारको नेतृत्व लिन सक्छ। प्रधानमन्त्री को भन्ने विषय छ, संसदीय दल नेता सभापति देउवा नै भएकोले उहाँ नै प्रधानमन्त्री बन्ने हो। संसदीय दल नेता परिवर्तनका कुरा पनि आएका छन् । तर, त्यो परिस्थिति आइसकेको छैन।’

उनले आफूले प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुनुपर्छ र कांग्रेसकै नेतृत्वमा अबको सरकार बनाउनुपर्छ भनेर निरन्तर भनेको स्मरण गराए । तर, अहिले नै सरकार परिवर्तन हुने आफूले नदेखेको उनको भनाई थियो । उनले भने,‘अहिले जे–जसरी अघि बढेका छौं, त्यसले त प्रचण्डजीलाई धेरै नै सहज बनाइदिएको छ। उस्तै परे उहाँ नै ५ वर्ष प्रधानमन्त्री हुन बेर छैन।’

सो क्रममा उनले माओवादी नेतृत्वमा बनेको समाजवादी मोर्चाको गठनबारे पनि आफ्नो मत बेग्लै रहेको सुनाए । उनले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनाईएको समाजवादी मोर्चा कांग्रेसलाई ठेगान लगाउन बनेको दाबी गरे । उनले प्रष्ट्याए–‘यो केन्द्र बनाउनुको उद्देश्य कांग्रेसलाई ठेगान लगाउनु हो भन्ने प्रष्ट छ। यसबारे साउनमा बसेको केन्द्रीय समिति बैठकमा मैले कुरा राखेको थिएँ। हामीलाई नै जानकारी दिएर प्रचण्डजीले समाजवादी केन्द्र बनाएको हो भन्नेजस्ता जवाफ पाएँ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१