‘टोखा–छहरे सुरूङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ: अर्थमन्त्री प्रकाशशरण महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०८०, आईतवार ०६:१५

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरूङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताएका छन‍्।

नेपाली कांग्रेस नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरूङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताएका हुन्।

‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरूङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘योजना सम्पन्न गर्न करिब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ, यो वर्ष नेपालले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेर सुरूवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछौं।’

नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौं आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको सडकलाई सुरूङ मार्गमार्फत काठमाडौंमा जोड्नसके दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री महतको भनाइ छ।

सुरूङ मार्ग निर्माणका लागि विभिन्न चरणका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले निर्माण हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै त्यसका लागि धैर्य गर्न उनले आग्रह गरे। अहिले प्रारम्भीक अध्ययन पूरा भएर वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ। अबको एक-दुई दिनमा नै तयार भएपछि चीन भ्रमणको क्रममा उक्त प्रतिवेदनका आधारमा आर्थिक सहयोगको प्रस्ताव लैजाने उनले बताए।

‘चीनको केरूङ हुँदै काठमाडौं सम्मको अन्तर्राष्ट्रिय नाका सञ्चालनमा चीन सरकारको प्राथमिकतामा परेकाले सुरूङ मार्ग निर्माणमा नेपालको प्रस्तावलाई चीनले सकारात्मक रूपमा लिनेछ भन्ने विश्वास छ’, उनले भने, ‘धादिङको गल्छी हुँदै त्रिशूलीबाट रसुवागढीसम्म विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गमा चीन सरकारको सहयोग भएकाले सुरूङ मार्गमा पनि दुई पक्षीय सहमति हुनेछ।’

भारतीय नाकाबन्दीको समयमा मन्त्रिपरिषदको विशेष निर्णयअन्तर्गत निर्माण थालिएको धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली हुुँदै चीनसँगको सीमा रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग निर्माणको काम नेपालको लगानीमा आधाभन्दा बढी सम्पन्न भइसकेको छ। उक्त सडकमा चीन सरकारले रसुवाको स्याफ्रुबेसीँदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिए पनि काम सुरू गर्न भने बाँकी छ।

May be an image of 1 person, temple and text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१