स्वतन्त्र नागरिक जनजागरण अभियानको भेलाले चयन गर्यो मुकुन्द सिलवाल लाई नेतृत्व

evccfn@gmail.com' rastriyakhabar
७ भाद्र २०८०, बिहीबार २१:५१

काठमाडौं । देशमा व्याप्त,विकृति,विसंगती,अराजकता,सामाजिक बिखण्डता सरकार तथा कर्मचारी प्रशासन र गृहप्रशासन हुँदै न्याय पालिकामा समेत देखिएको चरम भ्रष्टाचार कै कारण आम नागरिक मारमा परेको भन्दै सरकार र सम्बन्धित पक्षलाई खवरदारी गर्न स्वतन्त्र संगठन निर्माण गर्न बसेको एक भेलाले संगठनको नाम स्वतन्त्र नागरिक जनजागरण अभियान राख्दै संगठनको संयोजकमा युवा अभियतन्ता मुकुन्द सिलवाल लाई चयन गरेको छ ।
सामाखुसी स्थित स्काई रेष्टुरेन्टमा भएको भेलामा हिन्दु धर्मका अगुवा राम बाबा , शन्तोष राजावादी प्रगतिशिल नागरिक मन्चका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ, स्वतन्त्र पार्टीका स्थानिय नेता दिनेश श्रेष्ठ , भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका महासचिव अर्जुन के.सी. युवा नेता तथा संचारकर्मी उद्यव भेटवाल , सामाजिक अभियन्ता अर्जुन थापा , श्याम थापा ,देवेन्द्र महर्जन, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी, लगाएत दर्जनौ संघ संस्थाका प्रतिनिधिहरु तथा मिडियाकर्मी हरुको उपस्थिति रहेको थियो ।
भेलामा संयोजक मुकुन्द सिलवालले आफ्नो तर्फबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्र माथि उपस्थित केहि सहभागिहरुले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यपत्र यस्तो छ
भूमिका
आदरणीय साथीहरु नमस्कार । विभिन्न राजनीतिक व्यवस्थाका नाममा नेपाली जनताले थुप्रै संघर्ष र आन्दोलन गरे । लामो संघर्ष र उतारचढाव पछि आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छ । व्यवस्थालाई उन्नत भनिएपनि जनताका अधिकार र आवश्यक्ताको पुर्ती हुनसकेको छैन । राजनीतिक दलहरुले जनताकामाझ कयौं वाचा गरेपनि आज जनताको अवस्था जस्ताको त्यस्तै छ । दुईछाक टार्नका लागि उचित रोजगारीको व्यवस्था नहुँदा लाखौं युवा विदेशिन परेको अवस्था छ । विदेशको भूमिमा रगतपसिना गरेपनि उनीहरुको सुरक्षाको प्रत्याभूति छैन । दैनिक युवाहरु काठको बाकसमा लास बनेर फर्किनु परेको विडम्वना हाम्रो सामु छ । बेरोजगार युवाहरुले देशमा कुनै आशाको किरण देखेका छैनन् । भावीपुस्ता पुरै पलायन हुने खतरा रहेको छ । यति हुँदापनि हाम्रो यथास्थितिवादी शासन व्यवस्था र शासकहरु रमिता हेरिरहेका छन् । सरकारी अड्डादेखि अदालतसम्म भ्रष्टाचार छ । देशका गृहमन्त्री र उपप्रधानमन्त्री भएका मान्छे नक्कली भुटानी शरणार्थी खडा गरेर अमेरिका पठाउने तस्करी धन्दामा लाग्छन् । त्रिभूवन विमानस्थल बाट सयौं किलो सुन खुलेयाम तस्करी हुन्छ । तस्करहरु राजनीतिक संरक्षणमा उन्मुक्त हुन्छन् । मंहगीले बजारमा छोइनसक्नु भएको छ । आर्थिक मन्दीले देशनै त्रस्त छ । यस्तो अवस्थामा हामी सामाजिक राजनीतिक अभियानमा लागेका मानिस मौनता साँधेर बस्नु उपयुक्त हुन्न । आजको अस्तव्यस्त अवस्थाबाट अघि बढेर मुलुकमा जनताका न्यूनतम अधिकार प्रत्याभूत गर्न हामीकुनै न कुनै माध्यम र सहकार्य मार्फत जोडिनु नै पर्दछ । यसर्थ आजको यो भेला आयोजना गरिएको छ ।
भेलाको उद्देश्य
भेलाले सहभागीहरु सबैको राय, सुझाव र धारणा संकलन गरेर एउटा सशक्त अभियान लाई संस्थागत दिशमा लैजाने छ । देशको मौलिक धर्म संस्कृतिको रक्षा, बढ्दो वैदेशिक रोजगारी र त्यहाँ जाने आउने क्रममा श्रमिकले भोग्ने समस्याको समाधान, शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको माफिया वादका विरुद्ध र समग्र उपभोक्ताको अधिकारका लागि नागरिक आवाजको अभियानलाई मुर्तरुप दिनका लागि हामीले अभियानहरु सञ्चालन गर्नुपर्ने आवश्यक्ता देखिएको छ । यस अभियानमा जोडिएर हामीले वैदेशिक रोजगारीका पीडामात्र होइन पर्यावरणको सुरक्षा गर्नेछौं । शिक्षा, स्वास्थ्यमा जनताको पहुँच वृद्धि लगायत गर्न संस्थागत पैरवी र अभियान गर्नेछौं । बढ्दो बेरोजगारीको समस्याहल गर्न सम्बन्धित निकायसँग पैरवी गर्नेछौं ।
संगठनको स्वरुप
साथीहरु, यस समुहलाई हामी स्वतन्त्र नागरिक जनजागरण अभियान नाम दिने प्रस्ताव गर्दछौं । यस नामका सम्बन्धमा हामीले छलफल गरेर विकल्प नामपनि पारित गर्न सकिन्छ । हाम्रो उद्देश्य मूलभूत रुपमा मौलिक धर्मसंस्कृतिको रक्षा, वैदेशिक रोजगारीका क्षेत्रमाभएका समस्या समाधान, जनताकोे गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउनअभियानर पहल गर्ने रहेको छ । यीनै विषयमा कार्ययोजना बनाउन तथा संस्थाका उद्देश्य र विधानको मस्यौदा तयार पार्न यसै भेलाले एउटा तदर्थ समिति बनाउनेछ ।
निश्कर्ष
प्रिय मित्रहरु यहाँहरु समक्ष मैले हामीले निर्माण गर्न खोजिरहेको संस्था र त्यसमार्फत हामीले समाजको सुधार र रुपान्तरण गर्नका लागि गर्न सकिने कार्यहरुका बारेमा प्रस्ताव पेश गरेको छु । विभिन्न क्षेत्रमा स्थापित यहाँहरु सबैसँग समाजकायी समस्याका बारेमा जानकारी नै छ । हामी सबै आआफ्नो ठाउँबाट यो अव्यवस्था हटाउन चाहान्छौं । तर, हामी साझा उद्देश्यका लागि एकीकृत हुनसकिरहेको छैनौं । यसर्थ आजैका दिनदेखि हामी माथि उल्लेखित क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि संगठित, एकीकृत र सकृय हुनुपरेको छ । सबैलाई यही आग्रह गर्दछु ।

धन्यवाद ।
मुकुन्द सिलवाल
मितिः२०८०।०५।०७

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१