ड्रिभिजन थ्री उपाधिका लागि नेपाल र युगान्डाबीच भिडन्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७१, बिहीबार ०८:१०
काठमाडौं –  मलेसियामा जारी आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन तीनको उपाधिका लागि अहिले  नेपाल र युगान्डाभिडिरहेको छ। क्वालालम्‍पुरस्थित किनरारा खेल मैदानमा टस जितेर ब्‍याटिङ रोजेको नेपालले  ४ ओभरमा बिना विकेटको क्षतिमा १७ रन बनाएको छ।
राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहेका आधारमा नेपाल र युगान्डा उपाधिका लागि भिड्न लागेका हुन्। शीर्ष दुई स्थामा रहेकै कारण दुवै टोली डिभिजन दुईमा पनि बढुवा भएका हुन्।
राउन्ड रोबिन लिगमा यी दुवै टोली पाँचमध्ये चारचार खेलमा विजयी र एकएक खेलमा पराजित भए। नेपाली टोली युगान्डासँग र युगान्डा मलेसियासँग पराजित भएका थिए। नेपाल र युगान्डा गत वर्ष पनि डिभिजन तीनको उपाधिका लागि भिडेका थिए। त्यतिबेला युगान्डालाई हराएर नेपालले उपाधि हात पारेको थियो। त्यतिबेला राउन्ड रोबिन लिगमा भने नेपाल युगान्डासँग पराजित भएको थियो।
यसै वर्ष न्युजिल्यान्डमा भएको विश्वकपको छनोट खेलमा नेपालले युगान्डालाई हराएको थियो। सोही विश्वकप छनोटमा कमजोर प्रदर्शन गरेपछि नेपाल र युगान्डा दुवै डिभिजन दुईबाट तीनमा घटुवा भएका थिए। नेपालले डिभिजन लिगमा पाँच, चार र तीनको उपाधि जितिसकेको छ। नेपालले एक दिन पनि आराम नगरी बिहीबार युगान्डासँग पाँचौं खेल खेल्न लागेको हो।
बर्मुडा र अमेरिका रेलिगेसनमा 
एकदिवसीय विश्वकप खेलिसकेको बर्मुडासँगै अमेरिका डिभिजन चारमा घटुवा भएका छन्। मलेसियामा जारी डिभिजन तीनको राउन्ड रोबिन चरणमा अन्तिम दुई स्थानमा रहेका कारण बर्मुडा र अमेरिका एक डिभिजन तल झरेका हुन्। सिंगापुर र मलेसिया भने डिभिजन तीनमै कायम रहे। यी दुवै टोली यसै वर्ष भएको डिभिजन चारबाट बढुवा भएका थिए।
गत वर्ष बर्मुडामा भएको डिभिजन तीनमा अमेरिका र बर्मुडा दुवै सोही डिभिजनमा सुरक्षित रहेका थिए। अंक तालिकामा नेपाल र युगान्डाको आठ/आठ अंक भयो। सिंगापुरले ६ र मलेसियाले चार अंक जोड्यो। अमेरिका र बर्मुडाले दुईदुई अंकमात्र हासिल गर्न सके।
डिभिजन लिगमा शीर्ष दुई टोली एक डिभिजन बढुवा, अन्तिम दुई टोली एक डिभिजन घटुवा र बीचका दुई टोली यथास्थानमा रहने प्रावधान छ। बर्मुडाले सन् २००७ को एकदिवसीय विश्वकप खेलेको थियो। अमेरिका भने डिभिजन लिग क्रिकेटमा सशक्त मानिएको टोली हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१