अदालतले धरौटीमा छोड्दा पनि गुण्डा नाईके सानुभाईको जेलमै बस्ने इच्छा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०८०, मंगलवार ०५:५९

काठमाडौं। अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् ।

धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर भने होईन । आपराधिक पृष्ठभूमि रहेका गुरुङ पटके थुनुवा हुन् । उनी यसभन्दा अघि पनि पटक–पटक पक्राउ परेका थिए । गुण्डा नाईके गुरुङले जेललाई नै सुरक्षित ठाउँको रुपमा लिएका छन् । विभिन्न अपराधमा संलग्न रहेका गुरुङलाई इन्काउन्टरमा परिन्छ भन्ने ठूलो डर रहेको उनी निकट स्रोत बताउँछ ।

गत असार १५ गते काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक र कर्मचारीलाई कुटपिट गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।सानुभाइ प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगीका रुपमा चिनिएका व्यक्ति हुन् ।

सानुभाईले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । उक्त घटनामा गोली लागेर अनिल घाईते भएका थिए । उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा २०७२ पुसमा पक्राउसमेत गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो ।

प्रहरीस्रोतका अनुसार घैंटेको इन्काउन्टरपछि सानुभाइको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बनाएका थिए । त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाईके सानुभाईबीचको विवाद प्रहरीमा पुगेपनि राजनीतिक दवाबका कारण प्रहरीले उनलाई कारबाही नगरी छाडेको थियो ।

उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणमा पनि संलग्न थियो । त्यसैगरी सानुभाईकै समूहले २०७१ सालमा डोलबहादुर घलेको आँखानै गुम्ने गरी आक्रमण गरेको थियो ।

प्रहरी स्रोतका अनुसार युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता छ । उनी नेपाली कांग्रेसको संस्थापन नेतृत्व निकट मानिन्छन् । उनी संलग्न विभिन्न अपराधमा छिपाउन कांग्रेस संस्थापन समूहका नेताहरुकै संलग्नता रहेको पनि चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१