आँखा पाक्ने रोग लक्षण र रोकथाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०८०, शनिबार ०६:१३

पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल, आँखा उपचार केन्द्र, स्वास्थ्य केन्द्र बिरामीहरुको चाप बढ्दै छ । तिव्र रुपमा फैलिरहेको यो रोगका कारण अहिले धेरै मानिसहरु प्रभावित भइरहेका छन । धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न गर्छ । यो रोग बालबालिका मात्रै नभएर जुनसकै उमेर समूह, महिला–पुरुष सबै उमेर समूहका मानिसमा संक्रमण गरिरहेको छ ।

चिकित्सकिय भाषामा आँखाको सेतो भागलाई ढाक्ने झिल्ली कञ्जनटाईबामा संक्रमण हुनुलाई कञ्जनटीबाईटस् वा आँखा पाक्ने रोग भनिन्छ । प्राय मानिसमा रुगाखोकीको संक्रमण भईरहन्छ, त्यस्तै आँखा पाक्नु भनेको पनि संक्रमण हुनु हो । यो एक मान्छे बाट अर्को मान्छेमा सर्ने भएकोल एक प्रकारको सरुवा रोग हो । यो रोग किटाँणुको कारण प्रायजसो भाईरस र कहिले काँही ब्याक्टेरीयाद्धारा हुन्छ । यो रोग लागिसकपछि संक्रमण रोक्न र अरुमा फैलिन नदिन रोग लागेको व्यक्ती सकभर अरु भन्दा टाढा बस्ने, घरमै बस्ने, अफिस नजाने, र स्कुल कलेज जान बन्द गर्नुपर्छ । यसो गर्दा संक्रमण फैलिन कम हुन्छ ।

प्रायजसो हातमा किटाणु टाँसिएर त्यहि हात आँखा र मुखमा छुदाँ आँखा पाक्ने संक्रमण हुने भएकाले यो रोग आफुलाई नहोस् भन्नका लागि नियमति सरसफाई गर्ने, हातको सरसफाईमा बढी ध्यान दिने गर्नुपर्दछ । हात सफा भएन भने यो रोग बढी सर्ने सम्भावना हुन्छ त्यसैले नियमित साबुनपानीले हातको सरसफाई गर्नुपर्दछ ।आफ्नो अनुहार तथा आँखामा हात छोईराख्नु हुदैन् त्यस्तो बानी छ भने हटाउनुपर्दछ । यदि छुनैपर्ने भएमा हात सफा गरेर वा सेनिटाईजर गरेर मात्र छुनुपर्दछ । अर्को कुरा आँखा पाक्ने रोगले संक्रमित भएको व्यक्तीले छोएको जुनसुकै बस्तुबाट पनि यसको किटाणु फैलिने भएकाले संक्रमित व्यक्तीले प्रयोग गरको लुगाकपडा र अन्य बस्तुहरु समेत प्रयोग गर्नु हुँदैन ।

यसको संक्रमणबाट बच्नको लागि संक्रमित व्यक्ती आईसोलेट भएर बस्नुपर्दछ । ब्याक्टेरियाबाट संक्रमण भएको हो भने एण्टीबायोटिक्स् ओषधी प्रयोग गर्नुपर्दछ । त्यसमा पनि खाने औषधी भन्दा पनि आँखामा राख्ने थोपाको प्रयोग गर्नुपर्ने हुन्छ । बजारमा बिभिन्न खालका आँखामा राख्ने आईड्रोपहरु पाईने भएकाले आफैले बजारमा गएर औषधी प्रयोग गर्ने भन्दा पनि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुपर्दर्छ । दैनकि आँखा सरसफाईमा समेत ध्यान दिनुपर्दछ ।

आँखा पाक्ने रोगका लक्षण र रोकथाम यस्ता छन् :

सामान्य देखिएको आँखा अकस्मात् रातो देखिएमा आँखामा केही समस्या छ भन्ने बुझ्नुपर्छ । एक्कासि आँखा रातो हुनु भनेको आँखा पाक्ने लक्षण हुन सक्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ जानुपर्छ । आँखाको डिल सुनिएर हेर्न समस्या भयो भने आँखा पाकेको हुन सक्छ । यस्तो हुन नदिन आँखाको सरसफाइमा अत्यधिक ध्यान दिनुपर्छ । आँखा पाकेको वेला आँखाबाट पानी बगिरहन सक्छ । साथै, कहिलेकाहीँ रगतजस्तो पानी पनि निस्कन सक्छ । यस्तो वेला नडराईकन संयम अपनाउनुपर्छ ।

आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । घरबाहिर हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ, बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्नुहुँदैन । बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी गर्नुहुँदैन ।आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त पिउनुपर्छ । सीधै घाममा हेर्नुहुँदैन । गर्मी मौसममा सीधै घाममा हेर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ । कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गर्नुपर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए सबै परिवारले संयम अपनाउनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१