आइफोन किन्न आमा-बाबुले बेचे ८ महिनाको बच्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८०, आईतवार ०६:११

काठमाडौं । अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा एक दम्पत्तिले सोसल मिडियाकै नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् ।

भारतको पश्चिम बंगालमा भएको उक्त दर्दनाक घटनामा एक दम्पत्तिले आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् ।

‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण उनीहरुले आफ्नै बच्चालाई बेच्न पुगे । वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि उनीहरुलाई एउटा राम्रो भिडियो खिच्ने आइफोन चाहिएको थियो । त्यही आइफोनका लागि नै उनीहरुले आफ्नो बच्चा बेचिदिएका हुन् ।

पश्चिम बंगालको उत्तर चौबिस परगना जिल्लामा सो घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आफ्नै शिशुलाई बिक्री गर्ने पिता जयदेव र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

जयदेव र उनकी पत्नीले बच्चा बिक्री गरेको कुरा लुकाएका थिए तर छिमेकीहरुले लामो समयसम्म बच्चा नदेखेपछि उनीहरुसँग सोधखोज गर्न थाले । तर उनीहरुले प्रष्ट जवाफ नदिने र आनीबानीमा पनि परिवर्तन देखाउन थालेपछि गाउँलेहरुलाई शंका लाग्यो । त्यसपछि केरकार गर्दा उनीहरुले बच्चा बिक्री गरेको खुलासा गरे ।

यसअघि हातमुख जोर्न पनि संघर्ष गरिरहेका जयदेव र उनकी पत्नीले एकाएक आइफोन किनेर पश्चिम बंगालका विभिन्न ठाउँमा पुगी रील्समा भिडियो अपलोड गरेका थिए । त्यसपछि नै गाउँलेहरुलाई शंका लागेको थियो ।

प्रहरीले खारदह भन्ने क्षेत्रमा बस्ने एक महिलाको साथबाट बच्चाको उद्धार गर्न सफल भएको छ । आइफोन किन्ने पैसा दिएर दम्पतीबाट बच्चा खरीद गरेकी ती महिलालाई पनि पुलिसले पक्रिएको छ । जयदेव र उनकी पत्नीले नशालु पदार्थ सेवन गर्ने गरेको र घरमा रहेकी ७ वर्षकी अर्की छोरीलाई पनि बिक्री गर्न चाहेको आरोप छिमेकीहरुले लगाएका छन् ।

–एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१