सामाखुसीमा बगेर बेपत्ता भएका बालक अझै फेला परेनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८०, आईतवार ०५:५०

काठमाडौं । यही साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन्।

खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

‘विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामाखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौं, अहिलेसम्म फेला परेको खबर छैन,’ उनले भने।

बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ।

काठमाडौंको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी नालामा बगेर बेपत्ता भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१