कविता
मनु अभास
नाङ्गलेभारे, काठमाण्डौ
अब, घाम अस्ताउँदा नअस्ताउँदै, शिरीषका हाँगाहरुबाट ओर्लने
जुनको धुमिल उज्यालोमा
सुन्धाराका पर्खालभरी पोखीने प्रेमिल दृष्यहरु ।
सुन्नुपर्ने छैन,
मैनको मन्द प्रकाश सँगै
छिमेकीका झ्यालहरुबाट निस्कने
चरम सन्तुष्टिका सुस्केराहरु पनि ।
आफ्नै छायाँको ओझेलमा
कुना पसेर हुने सम्झौताहरुमा
साक्षि बस्नु पर्दै– पर्दैन
धरहराले ।
धरहराले –
पखालेर आफ्नै रँग–
छोप्नु पर्दैन, सडक भरी लत्पतिएको रगतको दाग ।
जमल –घण्टाघर– शहिदगेट हुँदै
जति दौडिए पनि ,सडक
रोकिनु पर्ने छैन, वीर अस्पतालको किनारामा
रोकिईहाले पनि
झिक्नु पर्ने छैन गोजीबाट एउटा कालो मास्क ।
अब बिस्तारै बिस्तारै पलाउने छन्
रत्नपार्क भित्रका गुलाफका डालीहरुमा
नवीन पालुवाहरु
र
फुलाउने छन् एउटा बैँशालु फूल–
गुलाफको
धुपीका फुँग उडेका बुट्यानहरुमा गुन्जने छैनन्
बार्गेनिर्गँ का धुन
बरु,
बिस्तारै छाउने छ– बसन्तको लहर
र चल्ने छ सुगन्धको बहाव ।
अब , जुन धर्तिमा ओर्लँदा नओर्लँर्दै
निदाउने छ – न्यूरोड
रगँ हिन हुँदैन – रत्नपार्क
सुनसान हुनेछ – सुन्धारा
पहुना घरका लक्जरीयस् कोठाहरुमा
बास खोज्दैनन्
बसपार्कमा झरेका गुन्द्रुके झोलाहरुले
हराउने छैनन् एयरपोर्टमा उत्रेका सपनाहरु
र, पातलिँदै जाने छ
पाहुनाको लाईन ।
किनकी,
हिजोआज न्यूरोडले निसँकोच बेचिरहेको छ
प्रकार प्रकारका सेक्स टोयज् हरु ।
प्रतिक्रिया