नेपालमा गैरसरकारी संस्थाको भूमिका किन र के का लागि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८०, मंगलवार ०५:३६

गैरसरकारी संस्था छोटकरीमा ‘गैसस’ बारे बहस र छलफल गर्ने काम नेपालमा सजिलो छैन। यसमा संलग्न मानिसको ‘पहुँच र प्रभाव’ नेपालको राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छ।

नेपालमा झांगिएको गैसस संस्कृति भनेको कम मेहनतमा केही पश्चिमा शिक्षा र गैसस ‘जार्गन’लाई प्रयोग गरी भिख माग्न जान्ने समुदाय र संस्कारको विकास हो भनी बुझिन्छ।

नेपालको संविधानले देशको आर्थिक सामाजिक विकासको माध्यम निजी, सरकारी, सहकारी र सामुदायिकलाई बनाएको छ। अब गैरसरकारी संस्था जो नेपालमा आफूलाई आर्थिक र सामाजिक रूपान्तरणको ‘मसिहा’ ठान्छन् तिनको भूमिका कसरी र केमा निर्देशित गर्ने ?

गैससको संख्यालाई लिएर नेपालमा केही यकिन गर्न सम्भव छैन। गैससको पहिचान नेपाली समाजमा तिलस्मी र रहस्यले भरिएको छ। गैससकोे संख्या कति छ? यो कुन कुन क्षेत्रमा काम गर्छ? यसले पैसा कहाँबाट ल्याउँछ? गैससमा आबद्ध भएर कतिजनाले रोजगारी पाएका छन् नेपालमा? कस्ताले गैससमा रोजगारी पाउँछन् र कसरी? गैससमा काम गर्ने नेपाली र विदेशीको तलवमान कति छ? सरकारको नियम/कानुन मानेर कति गैसस चलेका छन्? कुनै कुरा पनि गैससको पारदर्शी छैन। नेपालमा बच्चाहरूले चाखले पढ्ने भूतनाथको कथा जस्तै रहस्यमय र तिलस्मी भएको छ गैसस यतिखेर नेपालमा।

गैरसरकारी संस्थाबारे आमनेपालीबीच नकारात्मक सोच बढी छ। गैससकर्मीहरूको विश्वसनीयता यतिखेर जनताको कठघरामा छ। स्वाभाविक छ, कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससले आमनागरिकमा गहिरो गरी बसेको यस्तो नकारात्मक सोचलाई पारदर्शी ढंगले कहिले पनि प्रस्तुत हुन चाहना राखेन। तसर्थ के छन् र किन छन् त्यस्ता गैससबारे नकारात्मक सोच हेरौँ।

सर्वप्रथम सबै गैससमाथि लाग्ने आरोप भनेको यो अनिर्वाचित संस्था अत्यन्त अपारदर्शी छ भन्ने हो। गैससको जस्तो अपारदर्शिता नेपाल सरकारमा पनि छैन भन्ने विश्वास छ। दोस्रो, गैससले पाउने ‘फन्डिङ’को स्रोत नेपाली जनतालाई रहस्यमय लाग्छ। किन विदेशीले केहीलाई डलर दिन्छन् भन्ने चर्चा छ। यो कसरी प्राप्त हुन्छ र किन? भन्ने प्रश्न अनुत्तरित नै छ र प्राप्त गर्नेहरूले कुनै गोष्ठीमा आफूले पाएको रकमबारे विरलै चर्चा गर्छन्।

तेस्रो जोसँग पैसा छ, त्योसँग शक्ति पनि हुन्छ नै। नेपाली समाजमा गैससको समानान्तर सत्ता चलेको छ भनी मानिन्छ। यस्तो सोच विकसित हुनुको पछाडि गैससको नाममा नेपाली समाजले पैसाको भद्धा र कुरूप प्रदर्शन गैससको तारे होटल र रिसोर्टमा देख्छन्। कुनै पनि गैससकर्मीको चाल ढाल नै फरक हुन्छ भन्ने आमजनधारणा छ।

चौथो, नेपाली समाजमा सामाजिक रूपान्तरणको अभियन्ता हुनुपर्ने गैससवादीहरू सामाजिक कुरीतिका लागि जिम्मेवार छन् भन्ने सोच जनतामा विकसित भयो। पश्चिमा र आधुनिकताको नाममा गैससमार्फत नेपाली संस्कृति र सभ्यतामाथि निरन्तर आक्रमण भइरहेको छ भनी चिन्ता गर्ने ठूलो समुदाय नेपालमा छ। नेपाली समाजमा लाहुरे संस्कृतिले एउटा सभ्यता विकास भएको मानिन्छ भने विगत तीन दशकको लोकतान्त्रिक यात्रामा गैसस संस्कृति पनि भित्रिएको मानिन्छ। यो गैसस संस्कृति भनेको कम मेहनतमा केही पश्चिमा शिक्षा र गैसस ‘जार्गन’लाई प्रयोग गरी भिख माग्न जान्ने समुदाय र संस्कारको विकास हो भनी बुझिन्छ।

पाँचौँ, गैससका कारण राज्य कमजोर भयो नेपालको। राज्य र नागरिकको सम्बन्धबीच गैसस आयो। यसले राज्यमात्र कमजोर भएन। राजनीतिकर्मीको पनि गैसससामु भिख माग्ने संस्कार विकास भयो। गैससवादीहरू ‘सिभिल सोसाइटी’ भएका छन् हिजोआज, त्यस्तै राजनीतिकर्मीहरू ‘अनसिभिल’ भएका छन्। यो ‘सिभिल’ र ‘अनसिभिल’ अनि निर्वाचित र अनिर्वाचितबीचको द्वन्द्वमा नेपालको विकास प्रयास ठप्प भएको छ। राजनीति बन्धनमा परेको छ। आफ्नो निर्वाचन क्षेत्रको स्कुल, कलेज, पिउने पानी, बाटोघाटो, रोजगारी आदि सबै गैससले गर्छ भनी राजनीतिकर्मीले बुझे र आफ्नो र नागरिकबीच ‘विकासे एजेन्ट’ का रुपमा गैससलाई उभ्याए। नेपालको कानुन, नियम र मर्यादा सिकाउन छाडेर जनप्रतिनिधिले गैससलाई दाता बनाए, तिनको कृपा थाप्न हानाथाप गरे।

छैटौँ, गैसस समाज रूपान्तरण र आर्थिक समृद्धिको अजेन्डामा भन्दा यसको कार्यशैली समयसापेक्ष हुन्छ।  हिजोआज गैससको नयाँ ढाँचा र नयाँ सञ्चालन विधि विकसित भएको छ। काठमाडौँमा बस्ने गैससमा एउटा विदेशमा पढेको कार्यकारी प्रमुख रहन्छ। उसले स्वयम्सेवी भनी समावेशी तरिकाले एउटा समूह गठन गरी सरकार र संसद्को आँखामा छारो हाल्छ र दातासामु समावेशी लोकतन्त्रको विकासका लागि सहयोग गर भनी याचना गर्छ। विचरा समावेशी संगठनका प्रतिनिधिलाई कार्यकारी प्रमुखले अगाडि सारेको बढो सुन्दर फायल र माइन्युटमा सही गर्नेबाहेक केही काम हुँदैन। सबै काम र दाम एकजना पश्चिमा शिक्षा प्राप्त  व्यक्तिको जिम्मामा रहन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१