‘बगान’को दश दिनमा ७० लाख ग्रस कलेक्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८०, मंगलवार ०५:१७

काठमाडौँ। असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९,७८,१९१।- (उन्सत्तरी लाख अठहत्तर हजार एक सय एकानब्बे रुपैयाँ) ग्रस कलेक्शन गरेको छ ।

चलचित्रका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् । निर्माता वाग्लेले आफुले वितरकले दिएको हरेक दिनको हिसाबअनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताए ।

चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा भने केहि कम कलेक्शन रिपोर्ट देखिन्छ । यसो हुनुमा केहि चलचित्र हलमा बक्स अफिस सिस्टम लागु भईनसकेको, कतिपय हलबाट समयमा नै तथ्याङ्क उपलब्ध हुन नसक्नु र दुरदराजका कतिपय हलमा प्राविधिक समस्या आई सिस्टमबाट टिकट बिक्री गर्न नसकिने समस्या देखिने हुँदा कलेक्शन रिपोर्ट केहि कम देखिने बक्स अफिस अधिकृत प्रविण पाण्डेले बताए । काठमाडौँको लोत्सेमलस्थित आईएनआई सिनेमा, काठमाडौँको ईन्फिनिटी सिनेमा, बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, मोरङको बिराट सिनेमा, लालबन्दीको बिणा सिनेमा, बुटवलको आईएनआई क्यूबक्स, भक्तपुरको कमविनायक सिनेमा, बनेपाको शुभकामना हल, बर्दघाटको मोहिनी सिनेमा हल र गाईघाटको शुभलक्ष्मी सिनेमा हलबाट सिस्टममा ‘बगान’को कलेक्शन रिपोर्ट नआएको पाण्डेले बताए । त्यस्तै, विगत केहि दिनदेखि काठमाडौँको कमलपोखरीस्थित बिग सिनेमाले पनि समयमा रिपोर्ट उपलब्ध नगराएको उनले बताए ।

‘बगान’ले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेले बताए । उनले भने, “आज पनि हामी धेरै हलमा पुग्यौँ । केहि हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।” उनले नेपाली चलचित्रले दर्शकको अभाव झेलिरहेको बिषम् परिस्थितीमा ‘बगान’को व्यापारले उमंग ल्याएको बताए ।

एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो चलचित्र हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक हजार भन्दा धेरै एकल आमाहरूले आफ्नो परिचयपत्र देखाएर निशूल्क चलचित्र हेरेको निर्माता वाग्लेले बताए । हाल काठमाडौँका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरिरहेको चलचित्रको टिमले पुन: काठमाडौँ उपत्यका बाहिरका हलहरूमा दर्शक भेट्न जाने योजना रहेको वाग्लेले बताए ।

अभिनयका सुपरिचित सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१