सामाजिक पर्व हो छठ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार ०७:२४
dhirendra

धीरेन्द्र प्रेमर्षि, साहित्यकार  –
छठले मलाई बालापनको स्मृति गराउँछ । पछिल्लो समय राजधानीमा रहने हुनाले त्यसको आनन्द कमै लिन पाएको छु । तर, बाल्यकालमा मिथिला क्षेत्रको छठको स्मृति ताजै छ ।

छठका दिन परिवार सबैले ढक्की बोकेर जलाशय भएको घाटतिर जान्छन् । चढाउने सामग्री धेरै हुँने भएकाले परिवारका हरेकले बोक्नैपर्ने हुन्छ । अनि, हरेक ढक्कीमा दियो बालिएको हुन्छ । जाने वेलामा त अस्ताउँदो सूर्यलाई अर्घ दिने हुदा उज्यालै हुन्छ । तर, फर्किंदाको दृश्यचाहिँ निकै मनमोहक हुन्छ । सबैजना फर्किंदा पूरै बत्ती हिँडिरहेजस्तो भान हुन्छ ।

त्यस्तै नदीमा परालको सानो बुझो बनाएर त्यसमाथि दियो राखी बगाउने गरिन्छ । सबैले आ–आफ्ना घाटबाट दियो बगाउँछन् । त्यसपछि कहीँ गएर यस्तो दृश्य बन्छ, जुन आकाशमा तारा चम्चमाएजस्तो देखिन्छ । यस्तो लाग्छ, ती दियोहरू उठेर आकाशमा गई तारा बनेका हुन् । यो दृश्य मलाई निकै काव्यात्मक लाग्छ । यो दृश्य सहरमा सम्भव छैन । खासमा पर्वको महत्त्व अनुभूति गर्न गाउँ नै जानुपर्ने हुन्छ ।

छठको आफ्नै गीत–संगीत छ । त्यसमा धेरै अभिव्यक्ति धार्मिक भए पनि सामाजिक पीडा पनि अभिव्यक्त भएको हुन्छ । महँगी बढ्यो, अब कसरी छठमा प्रसाद चढाउने होला भन्नेजस्ता अभिव्यक्ति त्यसमा आउँछ । पूजा होउन्जेल घाटमा महिला समुदायले गीत गाउने र चमार समुदायले ढोल, पिपीलगायतका बाजा बजाउने प्रचलन छ । गीत गाउने प्रचलन त अहिले पनि कायमै छ, तर ढोल बजाउने प्रचलनचाहिँ बिस्तारै लोप हुँदै छ ।

chaat

छठ सूर्य उपासनाको पर्व हो । सूर्य वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणमा शक्तिको प्रमुख स्रोत हो । त्यसैले सूर्यपूजा सबैभन्दा पुरानो प्रचलनमध्येको एक हो । त्यस्तै जीवनको अर्को आधारभूत तत्त्व पानी हो । त्यसैले पानीमा उभिएर सूर्यको पूजा गर्नु वैज्ञानिक दृष्टिकोणले महत्त्वपूर्ण छ । तथापि, यसलाई धर्मसँग जोडिएको छ । धर्मसँग जोडिएका विभिन्न कथा र किंवदन्ती छन् । जसको मूल सन्देशचाहिँ सूर्य र जलस्रोतको पूजा गर्दा हामी र हाम्रा सन्तान स्वस्थ हुन्छन् भन्ने हो । यो सन्देशलाई हेर्ने हो भने छठ अत्यन्तै सुन्दर चाड हो । खासमा, छठ सामाजिक सौहार्दताका लागि सुरु गरिएको हो । तर, सामाजिक सौहार्दता मात्रै भन्दा मानिसले वास्ता नगर्ने भएकाले धर्मसँग जोडेको होजस्तो लाग्छ ।

तथापि, यसको पूजाविधिमा पनि धेरै वैज्ञानिक सोच देखिन्छन् । पोखरी, नदी वा अन्य जलाशयमा गएर पूजा गर्ने चलन त्यसमध्ये एक हो । यसले चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र निरोगी रहने विश्वास गरिन्छ । वास्तवमा रोगको सम्बन्ध पानीको प्रदूषणसँग सम्बन्धित छ । कमसेकम यो चाडका अवसरमा जलाशयको पूजा गर्दा यो सफा राख्नुपर्ने ठाउँ रहेछ भन्ने चेतना बढाउँछ । त्यस्तै कतिपयले छठघाटसम्म घिस्रेर जाने भाकल गर्छन् । त्यसमा भाकल जे गरे पनि त्यसको सामाजिक सन्देश भनेको बाटो पनि सफा हुनुपर्छ है, ताकि हामी लडीबुडी गर्दै पनि हिँड्न सकियोस् भन्ने हो ।

०००

मैले छठलाई साम्यवादी पर्व पनि भन्दै आएको छु । यसका केही आधार छन् । गायत्री मन्त्रलाई हिन्दु परम्परामा निकै पवित्र र महत्त्वपूर्ण मानिन्छ । यो सूर्यपूजाकै एउटा विधि हो । तर, त्यसलाई धर्मशास्त्र र त्यसका पुरेतहरूले सबैको पहुँचमा पुग्न दिएका थिएनन् । महिलालाई त सुन्न पनि दिइँदैनथ्यो । सूर्यले आरोग्य दिन्छ भन्ने मान्यता थियो । त्यसैले सूर्यको पूजा सबैले गर्न किन नपाउने भन्ने विद्रोही सोचका वञ्चित समुदायले यो पर्वको सुरुवात गरेका हुन् भन्ने धारणा विज्ञहरूबाट आइरहेको छ । त्यसैकारण षष्ठीको पूजा सुरु भयो । षष्ठीलाई प्रकृतिको छैटौँ अंश पनि भनिन्छ । तर, यसले अन्य सूर्यपूजा गर्नेलाई रोकेको छैन । त्यसैले यो साम्यवादी प्रकृतिको छ ।

छठ सामूहिकता र कर्मशीलता पर्व हो । यो पर्वमा ठूलो धनराशि खर्च गर्नुपर्छ भन्ने पनि छैन । बरु, अहिले मानिसले आडम्बर देखाउन थालेका छन् । तर, यसको परम्परा त्यस्तो होइन । यसमा आफूले उत्पादन गरेको वा छरछिमेकमा उपलब्ध ७० प्रकारका वनस्पति र पकवान चढाउनुपर्छ । तर, यही चढाउनुपर्छ भन्ने छैन । आफ्नो बारीमा जे उत्पादन हुन्छ, त्यही चढाउने हो । जस्तो, मुला, अदुवा, बेसार, भ्यान्टा, उखु, मटर, केरा, पिँडालु आदि । परम्पराका हिसाबले हेर्दा त्यसवेला अहिलेजस्तो सहजै बजारमा त्यस्ता सामग्री उपलब्ध हुँदैनथे । त्यसका लागि पनि उत्पादन गर्नैपथ्र्यो । आफूकहाँ उत्पादन नहुने कुरा छिमेकीसँग माग्नुपथ्र्यो । त्यसैले सामाजिक सद्भाव र सामूहिकता पनि आवश्यक हुन्थ्यो ।

त्यस्तै यो पर्व छुवाछुतबाट मुक्त छ । एकातिर यो निकै पवित्रताका साथ मनाइने पर्व हो । छठपूजा सुरु हुनुभन्दा एक दिन अघिदेखि नै नुवाई–धुवाई गरेर शुद्ध हुने गरिन्छ । त्यस्तै प्रसाद बनाउनेले पनि शुद्धतामा निकै ध्यान दिन्छन् । उदाउँदो सूर्यलाई अर्घ नदिउन्जेल यो पवित्रतालाई कायम राखिन्छ । तर, यो पवित्रतामा छुवाछुतको कुराचाहिँ आउँदैन । हाम्रो समाजमा छुवाछुतमा सबैभन्दा बढी छोइछिटो गर्ने पानीमा हो । तर, यसको मूल पूजा नै पानीमा गरिन्छ । त्यहाँ कुनै जात, धर्म वा आर्थिक वर्गको विभेद गरिँदैन ।

यस पर्वमा बरु दलित समुदायको सीपलाई सम्मान गर्ने प्रचलन हुन्छ । मिथिला समुदायमा सबैभन्दा पछि परेको दलित समुदाय भनेर डोम जाति चिनिन्छ । तर, छठमा नाङ्लो, कनसुती, डाला, ढकियाजस्ता चिज चाहिन्छ । त्यो पनि पुरानाले हुँदैन, नयाँ नै चाहिन्छ । चोयाबाट सामग्री बनाउने डोम समुदायको पुख्र्यौली पेसा हो । उनीहरूको सामग्री खपत गर्ने महत्त्वपूर्ण अवसर हो छठ । त्यस्तै कुमाल जातिले बनाउने माटाका भाँडा पनि यो अवसरमा खपत हुन्छ । यसरी पछि परेको समुदायलाई समाजमा महत्त्व दिएर सामाजिक सद्भाव निर्माण गर्न सघाउ पुर्‍याएको छ । त्यस्तै समाजको आर्थिक सन्तुलन कायम गर्न एकअर्काको सामान विनिमय गर्ने अवसर हो । बजारशास्त्रीय दृष्टिकोणले यो पर्व महत्त्वपूर्ण छ ।

०००

छठ पर्वप्रति पछिल्लो समय आकर्षण बढिरहेको देखिन्छ । तर, यसको धार्मिक पक्षलाई बढी र सामाजिक तथा सांस्कृतिक पक्षलाई कम प्राथमिकता दिएको देखिन्छ । संस्कृतिलाई धार्मिक रुढताबाट मुक्त गरेर मात्रै यसको सामाजिक, सांस्कृतिक महत्त्व प्रमाणित गर्न सकिन्छ । त्यस्तै, यस्ता कुरालाई स्थापित गर्न सकियो भने सामाजिक परिवर्तनको अभियान पनि निकै सहज बन्छ । त्यसमा सञ्चारक्षेत्र र सामाजिक अभियन्ताको ठूलो भूमिका हुन्छ ।

जस्तो, जातीय छुवाछुत हटाउन विभिन्न अभियानहरू चलिरहेको छ । तर, छठजस्ता जातीय छुवाछुतविहीन चाडपर्वलाई भने प्रोत्साहन गर्न सकेका छैनौँ । यदि त्यस्तो गर्ने हो भने हाम्रा पुर्खादेखि नै यो छुवाछुत मानेका रहेनछन् भन्ने सोच मानिसमा सजिलै विकास गर्न सकिन्छ । मैले छठको सन्दर्भमा १५ वर्षअघि एउटा गीत लेखेको थिएँ, ‘हमरे डाला, पनपथिया स देवतो–पितर पुजाई छै, तैयो कहु यौ बाबू–भैया हमरे देह किया छुआई छै ।’ मैले बनाएको कुराले छठमा देवीको पूजा हुन्छ, म कसरी अछुत हुन्छु भन्ने भावमा यो गीत लेखेको थिएँ । त्यो रेकर्ड भएर बज्न थाल्यो । अहिले मिथिला क्षेत्रमा लोकगीतजस्तो बनिसकेको छ । यो गीत सुनेर कति दलितले मलाई भनेका छन्, ‘तिमीहरू बाहुन मान्छे । के थाहा ? छठ गीतमै यस्तो भनिएको छ ।’ संस्कृतिमा जोड्दा मानिसलाई छुँदो रहेछ त भन्ने प्रमाण हो यो ।

तर, त्यसो हुन सकेको छैन । यसमा एउटा कारण त राज्य नै हो । राज्यमा शाह वंशको उदयपछि खसले नेपाली संस्कृतिबाहेक अरूलाई ओझेलमा पार्ने काम गर्‍यो । त्यसैले यस्ता संस्कृतिलाई प्रोत्साहन गर्ने वातावरण नै तयार भएन ।

मिडिया र सामाजिक अभियन्ता पनि यस्ता कुरालाई प्रोत्साहन गर्न चुकेका छन् । अझ कतिपय सामाजिक अभियानले त एउटा कुरीतिको अन्त्य गर्न अर्को अन्धविश्वासको सहारा लिएको देखिन्छ । जस्तो, छाउपडीकै उदाहरण लिऔँ । त्यसविरुद्ध सञ्चालित सामाजिक अभियानको एउटा पोस्टर मैले देखेको थिएँ । जसमा सरस्वती, भगवती, लक्ष्मी आदि देवीको चित्र बनाएर लेखिएको छ, म महिनावारी हुँदा चार दिन मन्दिरमै बस्छु भने अरू किन नछुने हुनु ? यसरी काल्पनिक कुरालाई प्रयोग गर्दा मानिसलाई कसरी छुन सक्छ र ? यसले त अझै अन्धविश्वासी बनाउने खतरा बढी हुन्छ । त्यसको साटो यस्ता सांस्कृतिक अवसर प्रयोग गर्नु आवश्यक छ ।

प्रस्तुति : कला अनुरागी

nayapatrika

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१