पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८०, मंगलवार ०५:४५

काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड ४४ लाख ११ हजार भ्रष्टाचार गरेको भन्दै सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ।

सेवा प्रवेश गरेको मिति २०७४ साउन ३२ गतेदेखि सम्पत्ति विवरण पेस गरेको मिति २०७९जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत निज र निजको परिवारको बैंक खातामा रहेको मौज्दात रकम अस्वाभाविक देखिएको अख्तियारले बताएको छ।

ढकालको पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, सेयर बिकीबाट प्राप्त रकम र विभिन्न व्यक्तिहरूसँग लिएको व्यक्तिगत सापटीसमेत गरी आयतर्फ स्रोत ६ करोड ३९ लाख देखिएको अख्तियारले जनाएको छ। औषधि उपचारमा भएको खर्चसमेत गरी जम्मा सात करोड चौरासी लाख खर्च भएको देखिँदा वैधानिक श्रोत खुल्न नसकेको अख्तियारको दाबी छ।

सार्वजनिक पद धारण गरेका निज प्रदीप ढकालले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिनुका साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसा कमाएको दाबी गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१