मनाङमा दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन् : समाजसेवी सोनाम ग्याल्चे घले लामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार ०६:३६

मनाङ । मौसम खुलेको हिउँदका दिन चारैतिर दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन्  । सूर्योदयको समयमा सेता टाकुरामा देखिने बिहानी उषा किरण ।

संसारकै अग्लो पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरूलाई संसारकै सुन्दर ठाउँमा पुगेको आभास हुन्छ । ‘पाँचदेखि छ घण्टाको उकालो चढेपछि थोराङ्ला पुग्नेबित्तिकै एकअर्कामा अङ्कमाल गर्छन् । खुशीले रुन्छन् अनि एकअर्काको आँसु पुछ्छन् । उनीहरू आफैँलाई भाग्यमानी ठान्छन’, पर्यटक पथप्रदर्शक समाजसेवी सोनाम  ग्याल्चे घले लामाले भने, ‘पदयात्रामा आउने उनीहरूका लागि यो ठूलो सफलता हो । पदयात्राको सोखिनका लागि थोराङ्ला चढ्नु प्रतिष्ठाको विषय पनि हो ।’  सबै पर्यटक हिमाल हेर्न रुचाउने उहाँले बताउनुभयो । ‘बिहान उठ्दा होस् वा साँझ सुत्दा, चिया खाँदा होस् या थकाइ मार्दा, उनीहरू हिमाल देखियोस् भन्ने चाहन्छन्’, उनले भने ।

हिमाली फेदमा पुगेपछि उनीहरू एक दिन थकाइ मार्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ सबै किसिमका वन्यजन्तु तथा जडीबुटी संरक्षित सूचीमा छन् ।  पर्यटकले हिमालसँगै यस क्षेत्रको प्रकृति पनि हेर्छन् । अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो साथै जुलु पिक, पिसाङ पिक, नीलगिरि, गङ्गापूर्ण र तिलिचो पिक लगायत हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । थोराङ्ला पुगेपछि धौलागिरि र नीलगिरि हिमाल नजिकै देखिन्छन् ।

‘तिलिचो ताल प्रमुख गन्तव्यमध्ये एक हो । संसारकै अग्लो ठाउँमा रहेको भनेर चिनिएको तिलिचो तालले अन्नपूर्ण पदमार्गलाई चिनाएको छ,’ सोनाम  ग्याल्चे घले लामाले  भने । पर्यटकले थोराङ्ला पास, लार्के पास र काङ्ला पास गर्न चाहने उनी बताउँछन् ।

नागबेली मस्र्याङ्दी नदी छेउको स्थानीय स्वाद, स्वागतसत्कार, स्थानीय जनजीवन, परम्परा, कला, संस्कार संस्कृतिमा पर्यटक रमाउने गरेको र  गुम्बा, छ्योर्तेन र पुलपुलेसा हेरेर पर्यटक रमाउँने लामाले बताए ।

‘ठाउँठाउँमा रहेका तालतलैया, डाँफे–मुनाललगायत चराचुरुङ्गी, नाउर, हिउँचितुवा, मृग लगायत वन्यजन्तुले पर्यटक लोभिन्छन्,’ उनले भने । यस बीचमा पर्यटक मोबाइल र क्यामरामार्फत फोटो अनि भिडियो कैद गर्छन् । इमेल इन्टरनेटमार्फत आफन्तलाई नेपाली प्रकृतिबारे बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१