वनमन्त्री डा. महतोद्धारा जङ्गी अड्डाको भ्रमण, नेपाली सेनाको भूमिकाको प्रशंसा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार ०५:०७

काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जङ्गी अड्डाको भ्रमण गरेका छन् । प्रकृति संरक्षणअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिको जानकारी लिने उद्देश्यले मन्त्री महतोले भ्रमण गरेका हुन् ।

प्रधान सेनापति प्रभुराम शर्माले आज (बिहीबार) मन्त्री महतोलाई जङ्गी अड्डामा स्वागत गर्दै २०३२ सालदेखि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षित क्षेत्रमा तैनाथ रही वन्यजन्तु तथा प्रकृति संरक्षणका क्षेत्रमा गरिरहेका सार्थक प्रयासबारेमा अवगत गराएका थिए । उनले हाल नेपाली सेनाको लगभग १० प्रतिशत फौज प्रकृति संरक्षणमा तैनाथ रहेको जानकारी गराए ।

वनमन्त्री डा महतोले प्रकृति संरक्षणका क्षेत्रमा हाल प्राप्त उपलब्धिमा नेपाली सेनाको भूमिकाको प्रशंसा गरेका छन् । उनले नेपाली सेनाको सहभागिता विना प्रकृति तथा पर्यावरण संरक्षणका प्रयासहरु प्रभावकारी नहुने बताउँदै संरक्षणमा परिचालित फौज एवम् कर्मचारीलाई परेको भौतिक पूर्वाधारको कमी लगायतको समस्यासँग आफू परिचित रहेको स्पष्ट पारे ।

साथै, उनले उक्त समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने बताए । सोही क्रममा उनले जलवायु परिवर्तनले पारेको असर, मानव वन्यजन्तु द्वन्द्व र मानव अतिक्रमण प्रकृति संरक्षणमा मुख्य चुनौतीका रुपमा रहेको कुरा औँल्याउँदै प्रकृति संरक्षणमा प्रविधिको प्रयोग बढाउनुपर्ने विचार व्यक्त गरे ।

चुरे क्षेत्र संरक्षणका लागि नेपाली सेनाबाट तैनाथ फौजको सङ्ख्या बढाउँदै लैजान जरुरत रहेको उनले उल्लेख गरे । वनमन्त्री डा महतोले जलस्रोत र वनजङ्गल नेपालको महत्वपूर्ण स्रोत रहेकाले उक्त स्रोतहरुको उचित सदुपयोगले नेपाल समुन्नत बन्न सक्ने हुँदा यसको संरक्षण अति आवश्यक रहेको बताए ।

सो अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले नेपालको प्रकृति संरक्षणमा सरकारको नीति, भइरहेका गतिविधि, उपलब्धि तथा क्षतिका बारेमा अन्तर्राष्ट्रिय चासो रहेको बताए । उनले नेपालले गरिरहेको संरक्षण पहलकदमीको सबैले निगरानी गरिरहेको उल्लेख गर्दै नेपाली सेनाले प्रकृति संरक्षण र चुरे क्षेत्रको पर्यावरण संरक्षणमा पु¥याएको योगदान अतुलनीय रहेको विचार व्यक्त गरे ।

उनले चुरे क्षेत्र तराई मधेस क्षेत्रको जीवनसँग जोडिएको हुँदा चुरे क्षेत्रमा भइरहेको विनाशलाई रोक्न अतिआवश्यक रहेको उल्लेख गर्दै यसका लागि हालको संरक्षण संरचनाले मात्रै पर्याप्त नहुने देखिएकाले विशिष्ट जिम्मेवारीसहित संरक्षण योजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा महानिर्देशक डा महेश्वर ढकाल, बलाधिकृत रथी, बलाध्यक्ष रथी, अन्य रथीवृन्द, वन मन्त्रालयका पदाधिकारीहरु तथा अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१