विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई मन्त्री साउदको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८०, सोमबार ०५:१९

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन्।

एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उनले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन्।

परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए। “हाम्रो स्पष्ट सोच छ। पहिला तपाईंहरुको विधान क्लियर हुनुपर्यो”, साउदले भने, “विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनोट हुन्छ। कोही हार्छ कोही जित्छ।”

उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा जोड दिए। “तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुन हुन्न”, मन्त्री साउदले भने, “हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधान बमोजिम हामीले त्यसमा एक्सन गर्ने हो।”

मन्त्री साउदले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरुलाई स्मरण गराए।

“संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रुपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्”, परराष्ट्रमन्त्री साउदले भने, “त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१