गर्मीले धानको बीउ सुक्यो, ‘पानी तान्ने मोटर नै नचल्ने विद्युत आपूर्तिले झनै समस्या’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८०, आईतवार ०५:२०

नेपालगञ्ज । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कल गरेका छन् ।

बाँके सीतापुरका सर्वजित विष्टले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको बताए । ‘मेरो घरमा मोटर भए पनि कम भोल्टेजका कारण मोटरले पानी नै तान्दैन’, उनले भने, ‘बल्लबल्ल ‘स्टेप्लाइजर’को सहायतामा पानी तानेर बीउ राखेकामा अहिले सिँचाइ नगर्दा बीउ सुक्दै गएको छ ।’ असारको पहिलो सातादेखि रोपाइँ गर्ने उद्देश्यले विष्टले जेठको दोस्रो साता धानको बीउ राखेका थिए ।

असार लागिसक्दा पनि पानी नपरेपछि धानको बीउ सुकेर खजुराका लालबहादुर खत्री पनि चिन्तित छन् । उनले छिमेकीको मोटरबाट पानी तानेर बीउ राखेका थिए । बीउलाई पटक पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बीउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको खत्रीले बताए । ‘बीउ त छिमेकीको मोटरबाट पानी तानेर राखियो । असार लागिसक्दा पनि आकाशबाट पानी परेको छैन । बीउ सुक्न थालिसक्यो । बीउ रोखेको जमिन चिरा परेको छ’, उनले भने ।

बाँके बैजनाथका किसान मानबहादुर परियारले आकाशे पानीको पखाइमा धानको बीउ राख्न ढिला भएपछि हाते पम्प चलाएर बीउ राखेको बताए । ‘घरमा मोटर/बोरिङ केही पनि छैन । पानी नपरेपछि हाते पम्प चलाएर बीउ राख्यौँ’, उनले भने, ‘तीनपटक हाते पम्प चलाएर बीउमा पानी चारेर जसोतसो पानी पुर्‍याइरहेका छौँ । रोपाइँ कसरी गर्ने हो भन्ने चिन्ता लागेको छ ।’ आकाशे पानीको भरमा खेती गनुपर्ने भएकाले धान खेती प्रभावित हुन सक्ने उनले चिन्ता व्यक्त गरे ।

‘गत वर्ष बाँकेको नरैनापुर क्षेत्रलाई सुक्खा क्षेत्र घोषण गरिएको थियो । यस वर्ष जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको छ’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले भने । सिँचाइको उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको उनको भनाइ थियो ।

प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुुरी, राप्तिसोनारी र बैजानाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताए । ‘मनसुन समयमा नहुँदा सिक्टाले केही भागमा पानी छोडे पनि सिँचाइका लागि त्यो पानी पर्याप्त छैन,’ उनले भने, ‘सिक्टाबाट छोडिएको पानी नहर आसपासका खेतलाई मात्र पुग्छ । पूरै जिल्ला सिञ्चित हुँदैन । नहर आसपासका किसानलाई भने केही राहत मिल्छ ।’

जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएको छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने प्रमुख अहमदले बताए । उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान उत्पादन राम्रो हुने बताए ।

मनसुन अनुकूल नभएकाले किसानलाई कम समयमा उत्पादन हुने र सुक्खा सहन सक्ने जातको बीउ लगाउन पनि उनले सुझाव दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१