पाँच सय चारमध्ये तीन सयभन्दा बढी निजी विद्यालयले सच्याए नाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८०, बुधबार ०६:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्देशनपछि निजी (संस्थागत) विद्यालयहरूले धमाधम नाम परिवर्तन गर्न थालेका छन् । महानगरको विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका, ०७४ अनुसार विद्यालयहरूले ‘इन्टरनेसनल, नेसनल र पब्लिक’ शब्द जोड्दा विद्यार्थीलाई दिनुपर्ने सेवासुविधा दिन नसकेपछि नाम नै सच्याउन थालेका हुन् ।

निर्देशिकाअनुसार स्कुलको नाममा ‘इन्टरनेसनल’ शब्द जोड्दा उनीहरूले विभिन्न मापदण्ड पालना गर्नुपर्छ । तर, संस्थागत विद्यालयले नाम मात्रै झुन्ड्याएर विद्यार्थीलाई दिनुपर्ने सुविधा नदिएको पाइएपछि महानगरले यसलाई कडाइ गरेको थियो । महानगरका मेयर बालेन्द्र साहले एक महिनाअघि मापदण्ड पालना गर्न निर्देशन जारी गरेका थिए । यसपछि अधिकांश विद्यालयले उक्त मपदण्ड पालना गर्न नसक्ने भन्दै विद्यालयको नाम नै सच्याएका छन् । केही विद्यालयले अझै पनि अटेर गरिरहेका छन् ।

निर्देशिकाअनुसार कुल विद्यार्थीको एकतिहाइ विदेशी विद्यार्थी अध्यापन गराउने भए मात्रै ‘इन्टरनेसनल’ शब्द जोड्न पाइन्छ । तर, विद्यार्थी तान्न र विदेशीसहरको जस्तै शिक्षा दिने बहानामा ‘इन्टरनेसनल’ झुन्डाइराख्न पाइँदैन । यस्तै, विद्यालयको नामको पछाडि ‘नेसनल’ शब्द जोड्न कम्तीमा पनि २५ जिल्लाका विद्यार्थी अध्ययनरत हुनुपर्छ । निर्देशिकाले यदि कुनै स्कुलले ‘पब्लिक’ शब्द जोड्छ भने त्यहाँ पढ्नेमध्ये कम्तीमा एकतिहाइले छात्रवृत्तिमा पढेको हुनुपर्छ ।

निर्देशिका पालना गर्न झन्झट हुने भएपछि निजी विद्यालयहरू उक्त शब्दहरू नै हटाउन थालेका हुन् । यही क्रममा चुच्चेपाटीस्थित प्राक्सिक इन्टरनेसनल स्कुल, कालिमाटीस्थित एमइटी विथ कोएजुकेसन विद्यालय’ कालिमाटीकै क्रिस्टल इन्टरनेसनल एकेडेमी, कोटेश्वरको भ्याली भ्यु इन्टरनेसनल स्कुललगायतले ‘इन्टरनेसनल’ शब्द हटाएका छन् । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरभित्र संस्थागत विद्यालय पाँच सय चारवटा छन् । यसमध्ये तीन सयभन्दा बढी विद्यालयले नाम सच्याइसकेका छन् भने केही विद्यालय सच्याउने तयारीमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१