प्रधानमन्त्री प्रचण्डसँग बागमती प्रदेशसभा सदस्य विमल ठकुरीको ज्ञापन पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८०, सोमबार ०५:२४

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीकाे  नेतृत्वमा काठमाडौं क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेकाे उपस्तिथिमा नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सांसद विमल ठकुरीका स्वकीय सचिब कृष्ण नेपालका अनुसार  आइतबार बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्ड भेटेका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद ठकुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गुनासो पत्र हस्तान्तरण गरेका हुन् । उनले काठमाडौँ विकसित जिल्ला भए पनि काठमाडौँ–३ विकासको गतिमा पछि परेकाले सो क्षेत्रका लागि प्राथमिकताका साथ कार्यक्रमहरू ल्याउन आग्रह गरेका छन् ।

काठमाडौँमा नै भए पनि आफ्नो निर्वाचन क्षेत्र विकट रहेकाले सरकारले बजेट कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्न उनले माग गरेका छन् । उनले सो क्षेत्रका नागरिकहरू विकासको अनुभूत गर्नबाट वञ्चित हुनुपरेको भन्दै सडक, खानेपानी, यातायात सुविधाको अवस्था अत्यन्त कमजोर रहेको बताए । सांसद ठकुरीले शिवपुरी आरक्षणको ढाँट शुल्क हटाउने सरकारसँग माग गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समेत गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१, सुन्दरी जलमा शिवपुरी आरक्षणको ढाँट रहेको कारणले त्यस क्षेत्रभित्र पर्ने ५ वटा गाउँवस्तीका जनताले दुःख भोग्नुपरेको उनको भनाई छ ।

ढाँटका कारण सो क्षेत्रका नागरिकहरूले घर तथा आफन्तकोमा आवतजावत गर्न पनि पैसा तिर्नुपर्ने अवस्था रहेको उनको गुनासो पत्रमा उल्लेख छ । उनले निकुञ्जभित्र घर भएका स्थानीयले दैनिक जीवनयापन गर्न सो ढाँटबाट ओहोरदोहोर गर्नुपर्ने भएकोले निःशुल्क व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उक्त ढाँटमा धार्मिक क्षेत्र सुन्दरी माई, वागद्वार जस्ता तीर्थस्थलमा जाने तीर्थयात्री भक्तजनले पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकोले ढाँटमा शुल्क सङ्कलन हटाउन आवश्यक रहेको उनको भनाई छ । निकुञ्ज क्षेत्रमा सुरक्षाका लागि चेक पोस्ट राखे पनि नागरिकहरूसँग शुल्क दिन नहुने भन्दै सो समस्या समाधानका लागि पहल गरिदिन सांसद ठकुरीले आग्रह गरेका छन् ।

त्यस्तै सांसद ठकुरीले विशेष महत्वको रूपमा रहेको बागमती करिडोर अन्तर्गत गोकर्ण ब्यारेज–महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरी जलसम्म जाने सडक निर्माण गर्न प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरेका छन् । उनले गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ अन्तर्गत पर्ने नेपाल ट्रस्टको स्वामित्वमा रहेको गोकर्ण वनका कारण सो सडक निर्माण हुन नसकेको उनले बताए ।

उनले सो सडक अन्तर्गतको गुह्येश्वरीदेखि सुन्दरी जलसम्म १० किलोमिटरमध्ये ५ किलोमिटर करिडोर सडक खुलिसके पनि गोकर्ण वनको पर्खाल सारेर बनाउनुपर्ने १०० मिटर सडक बन्न नसक्दा बाँकी बन्नुपर्ने ५ किलोमिटर सडक बन्न नसकेको उनले बताए ।

उक्त पर्खाल सारेर बाँकी ५ किलोमिटर करिडोर विस्तार गर्न सकिए बागमती करिडोर सडक गुह्येश्वरीदेखि सुन्दरी जलसम्म जोडिने उनको भनाई छ । माकलबारीबाट गोकर्ण ब्यारेज हुँदै गोकर्णेश्वर महादेव मन्दिर, उत्तर गयासम्म फराकिलो सडक बनेमा स्थानीयका साथै तिर्थालुहरुका लागि समेत आवतजावतमा धेरै सुविधा पुग्ने र यातायातको चाप पनि न्यूनीकरण हुने उनको भनाई छ ।

गोकर्ण वन नेपाल ट्रस्टको जग्गा भएको कारण हाल रहेको पैदल हिँड्ने बाटो पनि साँघुरो, भिरालो र जोखिमयुक्त रहेकाले आवतजावत गर्नेहरूलाई असुविधा हुने गरेको उनले बताए । नेपाल ट्रष्ट अन्तर्गत रहेको गोकर्ण वनको जग्गामा पर्खाल सारेर सडक चौडा गरी १५ मिटर वा सो भन्दा फराकिलो सडक बनाउन सकिने उनले बताए ।

सो सडक निर्माण पश्चात् स्थानीय क्षेत्रको विकासको साथै आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत थप टेवा पुग्ने उनको भनाई छ । सो नागरिकहरूको मागअनुसार सडक चौडा गर्न पहल गरिदिन उनले प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१