नेता विश्वकर्मा भन्छन्, ‘मादक पदार्थ र सूर्तिजन्य वस्तुको आयत बन्द गरिहालौं’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८०, सोमबार ०५:११

काठमाडौं । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रुपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रुपमा धुम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुनेगरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा आज (आईतबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी अन्तरक्रिया गरेको छ । क्लबका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित थियो ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सूर्तिजन्य पदार्थ, व्यक्तिगत, पारिवारिक, सामाजिक, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय सबै दृष्टिकोणले काम लाग्ने विषय नभएको बताए । उनले आफूले आजसम्म कुनै पनि प्रकारका सूर्तिजन्य वस्तुहरुको सेवन नगरेको उनले प्रष्ट पारे । राज्य लगायत विभिन्न सरोकारवाला निकाय सूर्तिको असर र फाइदाका बारेमा विभिन्न संवाद भइरहेको भएपनि सूर्तिको प्रयोग बढ्दो रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ९० प्रतिशत क्यान्सरका रोगहरु सूर्ति सेवनको कारण भएको तथ्याङ्कहरु प्रकाशित भइरहेको उनको भनाई छ ।

‘९० प्रतिशत मानिसहरु सूर्तिजन्य पदार्थको प्रयोगबाट क्यान्सर पीडित भइराखेका छन् । देशको आर्थिक उन्नति र नागरिकहरुको स्वास्थ्य, सुख र समृद्धिमा पनि ध्यान दिन पर्यो । हामीले केही मौलिक निर्णय गर्नुपर्यो । हामीले गाँजा खानेलाई चाहिँ कारबाही गरिरहेका छौं । गाँजाले क्यान्सर पनि हुँदो रहेन छ । टाउको पनि दुख्दो रहेन छ । अल्सर पनि हुँदोरहेन छ । गाँजाले ब्लड प्रेसर र सुगर पनि बढ्दो रहेन छ । अलिकति सोच्नुपर्ने विषय छ,’– उनले भने ।

सरकारले सूर्तिजन्य पदार्थको सेवनलाई कडाइका साथ नियन्त्रण र नियमण गर्नुपर्ने तर्फ लक्षित गर्दै उनले ५० ग्राम गाँजा भेटेर प्रहरीले समातेको फोन आएको तर चार बट्टा चुरोट बोकेर हिँडेपनि प्रहरीले समात्यो भनेर कहिले पनि फोन नआएको विश्वकर्माको भनाई छ ।

‘साँझसाँझ परेपछि हामी नेताहरुलाई एक दुईवटा फोन आइहाल्छ, सानो भनाभन भएको थियो रेष्टुरेन्टमा । मलाई पुलिसले यहाँ पो ल्यायो भनेर फोन आइहाल्छ । म गाँजा खाँदै थिएँ, हामी दुई जनाबीचमा भनाभन भयो । मलाई प्रहरीले ल्यायो भन्ने फोन आएको छैन । तर, मलाई भेट्यो, पुलिसले छाम्यो गाँजा भेटाए ल्यायो भन्ने फोन आउँछ । तर, चार वटा चुरोट गोजीमा थियो । प्रहरीले समायो भनेर अहिलेसम्म फोन आएको छैन,’– विश्वकर्माले भने ।

सरकारले मादक पदार्थ र सूर्तिजन्य पदार्थको आयत बन्द गर्नु आवश्यक रहेको उनले बताए । ‘रक्सी अथवा मादक पदार्थ, अल्कोहलजन्य पदार्थको आयत र सूर्तिजन्य पदार्थको आयत बन्द गरिहालौं । राम्रो नराम्रो जस्तो भएपनि नेपालकै रक्सी प्रयोग गरौं न । व्यापार घाटा छ भनेको छ, रक्सी, चुरोट र सूर्तिजन्य पदार्थका लागि हाम्रो देशको पैसा गइराखेको छ,’– उनले भने ।

विकट बस्तीहरुमा चामल पुर्याउन नसकेको अवस्थामा लक डाउनका बेलामा औषधी र खाद्यन्न पुर्याउन नसकेको अवस्थामा पनि हेलिकोप्टरबाट चुरोट वसारपसार गरिएकोसमेत नेता विश्वकर्माले स्मरण गरे । कोरियाको छ्याङ दरबारमार्गमा पाइने बताउँदै उनले नेपालको काभ्रेको छ्याङ काठमाडौं ल्याउने क्रममै मुद्दा लाग्ने भन्दै राज्यको नीतिमाथि प्रश्न उठाए ।
नेपालको सूर्तिजन्य पदार्थको आयतलाई बन्द गर्ने र सार्वजनिक स्थानमा धुम्रपानको निधेषलाई कार्यान्वयन गराएको खण्डमा प्रभावकारी नियन्त्रण हुने उनको भनाई छ । चुरोट तान्दै गरेको व्यक्तिलाई कारबाही गरी जरिवाना अशुली बढाउन आवश्यक रहेको उनको भनाई छ ।

अहिलेको अर्थतन्त्र सुधारको उपाय शुल्क घटाउने र जरिवाना बढाउने कार्य नीति ल्याउन आवश्यक रहेको उनले बताए । नेता विश्वकर्माले जन्म दर्ता शुल्क, विवाह दर्ता शुल्क, मृत्यु दर्ता शुल्क लगायतका शुल्कलाई घटाएर जरिवाना बढाउन सकेमा जसले गल्ती गर्छ उसलेमात्रै तिर्न भएकाले जनतामाझ राम्रो सन्देश जाने बताए । सूर्तिजन्य पदार्थ र अल्कोहलको आयतमा प्रतिबन्ध लगाउने कुरा र देशभित्र नियमण गर्ने कुरामा राज्य कडाइका साथ लाग्न आवश्यक रहेको उनको भनाई छ ।

मान्छेलाई नोक्सानी पुग्दैन र राज्यलाई फाइदा पुग्छ भनेर नै अहिलेको सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भनेर बजेट ल्याएको उनले दाबी गरे ।सूर्तिजन्य पदार्थको नियन्त्रण गरी नेपालीहरु सबैलाई स्वस्थ्य बनाउने अभियानमा लाग्न उनले सबैसमक्ष अपीलसमेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१