मालिकले औषधिउपचार गरेर पठाएको थियो, राष्ट्रपतिले ज्याला तिरेः बालकृष्ण न्यौपाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०८०, बिहीबार ०५:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले आज इतिहासकै कालो दिवस भएको टिप्पणी गरे । राष्ट्रपति पौडेलले संविधान र कानुनमा उल्लेख नै नभएको अधिकार प्रयोग गरेको उनको दाबी छ । ‘आज नेपालको राष्ट्रियताको इतिहासमा कालो दिवस हो । संविधानमा १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । १६ दिनका दिन गर्न पाइँदैन । रामचन्द्र पौडेलले ०७९ सालमा विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न इन्कार गरेको विधेयकमा लालमोहर लगाउनु भयो । कहाँ छ त्यस्तो व्यवस्था ?,’– उनले प्रश्न गरे ।

प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलले भारतलाई रिझाउनका लागि नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको आरोप छ । भारतले पौडेललाई उपचार गराएर र प्रचण्डलाई १० वर्षे युद्दमा हतियार दिएर सहयोग गरेको र त्यसकै ज्यालाका लागि उनीहरुले यो विधेक ल्याएको नेउपानेले आरोप लगाए । ‘मालिकले औषधि उपचार गरेर पठाएको थियो रामचन्द्र पौडेललाई । अर्को मालिक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १७ हजार मार्न हतियार पठाएको थियो । बम पठाएको थियो । १० वर्ष ज्वाईँ जसरी पालेको थियो भारतमा । त्यसको ज्याला बुझाउनु थियो भारतलाई,’– उनले भने ।

भारतले प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरी छुटाएर र नागरिकता विधेयक प्रमाणीकरण गरेर आउनका लागि भनेको उनको आरोप छ । यो देशको रक्षा गर्ने जिम्मा अब तराईवासी नागरिकको काँधमा गएको उनको दाबी छ । ‘तराईका नागरिकलाई म के भन्न चाहन्छु भने यो देशको रक्षा अब तपाईहरुले गर्नुपर्छ । होइन भने, यो देश रहेन भने भोलि विदेशीले लात हान्छ । यही कामका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाईएको हो । यो देशलाई लेन्डुप दोर्जेबाट बचाउन पर्छ । नागरिक जागेको खण्डमामात्र यो सम्भव छ,’– न्यौपानेले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१