तातोपानी नाकाको कन्तबिजोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०८०, बुधबार ०६:१७

सिन्धुपाल्चोक। वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ ।

चीनले निर्माण गरिदिएको मितेरी पुल, बन्दरगाहबाहेक नाकाको सबै भौतिक संरचना, पूर्वाधार, अध्यागमन कार्यालय, सडक जीर्ण र नाजुक अवस्थामा छन् । भूकम्पले ध्वस्त कार्यालयहरू उठ्न सकेका छैनन् । नाकावासी विस्थापित भएका छन् ।

उनीहरू फेरि नाकास्थित घरमा फर्केर निजी आवास पुनर्निर्माण गरेर बसेका छैनन् । सरकारीदेखि निजी आवाससम्म लथालिङ्ग र भताभुङ्ग छन् । बाढीपहिरो र भूकम्पले क्षति पु(याएका सरकारी कार्यालय, बैङ्क, विभिन्न व्यापारिक सङ्घ, संस्था, होटललगायतका संरचना पुनर्निर्माण भएका छैनन् ।

मितेरी पुलस्थित पुरानो भन्सार कार्यालय जीर्ण बनेको छ । भूकम्पले क्षतविक्षत भएका उक्त भवन ढल्नै लागेको छ । पुरानो भन्सार यार्ड खाली छ । भूकम्पपछि बन्द भएको अध्यागमन कार्यालयको ढोका अहिलेसम्म बन्द हुँदै आएको छ ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई ड्युटी गर्दा पानी र घामबाट ओत लाग्ने संरचना छैन । भूकम्प र पहिरोले माथिबाट आएको ढुङ्गा, माटो सडक किनारामा छरपस्ट छन् । माथिबाट आएका ठाडा खोला सडकमा बगिरहेका छन् । मितेरी पुलबाट बाह्रबिसेसम्मको २८ किलोमिटर सडक नाजुक छ ।

कोदारी खण्ड, झयाले भिर, घट्टेखोला, डाक्लाङ, सिरिसे, जम्बु, खाग्दल, चाकु र नयाँ पुलबिचको खण्डको अवस्था नाजुक छ । उक्त सडकखण्डमा मालवाहक कन्टेनर आउजाउ गर्न अति कठिन छ । भोटेकोशी नदीले सडक तानिरहेको छ । माथिबाट पहिरोले सडकमा क्षति पु(याइरहेको छ । सडक मर्मतसुधार कमसल र गुणास्तरहीन छ । सडक मर्मतका नाममा ठेकेदार र उपभोक्ता समितिलाई पैसा कमाउने थलो मात्रै बनेको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रमुख दयानन्द केसीले चीनबाट दैनिक तीन वटादेखि २५ वटा मालवाहक कन्टेनर नाका भित्रिँदै आएको बताउनुभएको छ । कहिले त एउटा कन्टेनर पनि नआउने गरेको छ । अहिले उक्त नाकाबाट युरिया मल, स्याउ, लसुन, कृषि सामग्री, रोल कपडालगायतका सामान आयात भइरहेका छन् तर निर्यात भने अहिलेसम्म नभएको उनले दुखेसो गरे ।

चिनियाँ पक्षबाट माग नआएपछि निर्यात हुन नसकेको व्यापारीले जनाएका छन् । सिल्क ट्रान्सपोर्टका दुई वटा गाडी र नमस्ते ट्रान्सपोर्टको एक गाडीले मे १ मा चीनतर्फ मुढा, म्याटे«स, हस्तकलाका सामग्री निर्यात गरेका थिए । त्यसपछि अहिलेसम्म कुनै सामान निर्यात नभएको केसीले बताए।

आयातमा कमी र निर्यातमा शून्यता जस्तै भएपछि चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने निश्चित जस्तै भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१