बागमती प्रदेशमा मन्त्री बहादुरसिंह लामालाई चार मन्त्रालयको जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०८०, बिहीबार ०५:२८

काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् । आज (बुधबार) मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिए। निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातितरुपमा उठ्न नसकेको कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक सङ्कटमा परेको बताए ।

बागमती प्रदेशको ११ मन्त्रालयमध्ये छ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका छन् । पाँच वटा मन्त्रालय मन्त्रीविहीन रहँदै आएको थियो । सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अझै पनि प्रदेशको दुई मन्त्रालय मन्त्रीविहीन अवस्थामै रहेको छ ।

बागमती प्रदेशमा पाँच वटा मन्त्रालय कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले चार मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१