टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनमै अलमल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार ०५:२०

काठमाडौँ  । चिनियाँ टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बिते पनि यसमा थप प्रगति छैन ।

करिब २० जनाको चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको प्रारम्भिक अधययन गरेको थियो ।

०७६ फागुनमा आएको टोली माघमा अध्ययन सकेर चीन फर्किएको थियो । त्यसपछि यसमा कुनै प्रगति हुन सकेन । उनीहरू गएको केही समयपछि कोभिड महामारी सुरु भएकाले टोली सम्पर्कविहीन बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख एवं सहसचिव अर्जुनजंग थापा बताउँछन् ।

टोली अध्ययन गर्न आउँदा थापा मन्त्रालयअन्तर्गतकै विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख थिए । ‘अध्ययन गरेर गएको टोली लामो समय सम्पर्कमा थिएन,’ थापाले भने, ‘अहिले आएर सुरुमा गरिएको प्रारम्भिक अध्ययनअनुसार वातावरणीय अध्ययन गर्न भनिएको छ ।’ टोलीले ८ महिनाअघि चिनियाँ दूतावासमार्फत इमेल पठाएर वातावरणीय अध्ययनको काम अघि बढाउन भनेको हो । ‘त्यसपछि विस्तृत अध्ययन गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन्,’ उनले भने ।

 

चार वर्षअघि अध्ययन गर्न आएको टोलीले सुरुङ निर्माण गर्ने क्षेत्रको सडक सञ्जालको तथ्यांक, जनसंख्यालगायतबारे तथ्यांक मागेका थिए । ‘जेजे उपलब्ध थियो, हामीले त्यो दियौं,’ उनले भने, ‘टोलीले फिल्डमा गएर पनि प्रारम्भिक अध्ययन गरेका थिए ।’ सुरुमा प्रारम्भिक रिपोर्ट नेपाल पठाउन भने पनि पठाएनन् । तर अहिले सम्पर्कमा आएर सामान्य खालको रिपोर्ट पठाए, जुन वातावरणीय अध्ययनका लागि पर्याप्त नभएको थापाले जनाए । अब सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसपछि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गर्ने गरी अध्ययन गर्नुपर्छ । वातावरणीय अध्ययन गर्न डीपीआर तहको अध्ययन गरेको प्रतिवेदन चाहिने भए पनि त्यो रिपोर्ट नभएको उनले सुनाए ।

‘डीपीआर तहको अध्ययनमा कति लम्बाइ, चौडाइ, कस्तो ढुंगा, माटो कस्तो, रुख कति काट्नुपर्ने हो, कति घर प्रभावित हुन्छन् भनेर रिपोर्टमा उल्लेख गरिएको हुन्छ,’ उनले भने, ‘चिनियाँ टोलीले सुरुकै प्रारिम्भक अध्ययनलाई टेकेर यसको अध्ययन गर्न भनिएको छ, त्यसैले वातावरणीय अध्ययन कसरी गर्ने भन्ने सम्बन्धमा तयारी गरिँदै छ ।’ सडक विभागको प्राविधिक टोलीले यसको अध्ययन गर्ने उनको भनाइ छ ।

प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, डाटा संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी ७ किमि हुने भनिएको थियो । तर प्राविधिक टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । लागतको कुरा आइसकेको छैन । सम्भाव्यता अध्ययनपछि लागत अनुमान निस्कनेछ । सुरुङ निर्माण भने चीन सरकारबाटै हुने जनाइएको छ । यस खण्डमा सुरुङ निर्माण गर्नुको कारण रसुवागढी सडकको दूरी छोट्याउनु रहेको थापाले बताए । यसबारे सरोकार राख्ने सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा उपमहादिर्नेशक विजय जैसी अध्ययनमा कुनै प्रगति नभएको जनाउँछन् ।

टोखाबाट गुज्रेभन्ज्याङ–छहरे–गंगटे सडक अहिले चालु छ । ‘त्यो सडक तादी नदीको किनारै किनार जान्छ,’ सहसचिव थापाले भने, ‘गल्छीबाट पृथ्वी राजमार्ग–थानकोट हुँदै काठमाडौं छिर्नुभन्दा टोखाबाट धेरै नजिक पर्छ, त्यहीअनुसार सडकको दूरी छोट्याउन सुरुङ बनाउन अध्ययन गर्न लागिएको हो ।’

यता केही दिनअघि अर्थमन्त्री प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ताका क्रममा टोखा–छहरे सुरुङ छिट्टै निर्माण चरणमा लग्न सकिने बताएका थिए । यस सुरुङमार्गको अध्ययन र निर्माण कसरी गर्ने भन्ने सम्बन्धमा अर्थमन्त्री महत र राजदूत सोङबीच छलफल भएको थियो । मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङमार्ग बनाउने विषयमा चिनियाँ राजदूत सोङले चासो जनाएका थिए । भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधार विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१