गोकर्णेश्वरमा हुने राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सवको तयारी अन्तिम चरणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०८०, मंगलवार ०६:२७

काठमाडौं । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आयोजना गर्न लागेको राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको वाचन तथा गायनमा छनोट गरिने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । साहित्य, संगीत र कलाको मिश्रणबाट अभिव्यक्त हुने सिर्जना गजलको व्यापकता, यसको मर्म र गहिराइलाई आत्मसात गर्दै गोकर्णेश्वर नगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

हालसम्म स्वदेश तथा विदेशबाट नेपाली गजलकारहरूबाट ४५६ वटा गजल प्राप्त भएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई कर बाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिने नगरप्रमुख दीपककुमार रिसालले जानकारी दिए ।

त्यस्तै द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ भने पाँच जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही रु २० हजारका दरले पुरस्कृत गरिने जानकारी गराएका थिए । यसैगरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगीका रूपमा विशिष्ठ गजलकारको उत्कृष्ट प्रस्तुति रहनेछ।

महोत्सवलाई सफल र भव्यरूपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । गजल महोत्सव आयोजक समितिका संयोजक गोविन्द प्रसाद घिमिरे वेदमणिले गजल प्रतियोगितालाई अन्तराष्टियस्तरको बनाउने तयारी भइरहेको बताएका छन् । प्रतियोगिता निष्पक्ष र स्वतन्त्र तरिकाबाट प्रतियोगीहरुको मूंल्यांकन हुने संयोजक घिमिरेको भनाई छ ।

प्रतियोगिताका लागि प्राप्त यी गजलहरूमध्ये प्रारम्भिक मूल्यांकन समितिले उत्कृष्ट १०० वटा चयन गर्नेछ । पहिलो चरणमा चयन गरिएका १०० वटा गजलहरूलाई अन्तिम मूल्यांकन गरी ४० वटा छानिने छन् । त्यसैगरी पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले यस पालिकालाई साहित्यिक हब बनाउने योजना रहेको बताए । गोकर्णेश्वर नगरपालिका भित्रका साहित्यिक सर्जक, कवि, लेखक, कलाकार अवस्था पहिचान गरी नगरपालिकाले उचित संरक्षण तथा सम्मान गर्ने योजना रहेको बताए ।

गोकर्णेश्वर क्षेत्रलाई साहित्य तथा कला सस्कृतिको नगरको रुपमा परिचित गर्ने योजना रहेको बताए । त्यसैगरी गोकर्णेश्वर नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख डण्डपाणी शर्माले यस किसिमको प्रतियोगिताले साहित्य कला, युवाको प्रतिभाको विकासमा सहयोग पुग्ने बताए । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद बिभागले प्रतियोगिताको समन्वय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१