ककनीका अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८०, शुक्रबार ०६:०२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगले काठमाडौंको भूगोल पार्कमा अनशन बस्दै आएका घिमिरेका मागलाई सार्थक वार्ताबाट समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेको हो।

घिमिरे कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरू पूर्ण रुपमा अनुदान उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न मागहरू राखी गत वैशाख ५ देखि अनशनरत छन्। नुवाकोट ककनीका घिमिरेको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण जनाएको छ। आयोगले अनशनस्थल पुगेर अनुगमन गर्नुका साथै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। स्वास्थ्य परीक्षण गराउँदा घिमिरेको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको देखिएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगले २०७५ सालमा किसानको अधिकारसम्बन्धी कानुनहरूको पुनरावलोकन तथा अध्ययन प्रतिवेदन तयार गरी नेपाल सरकारलाई १५ बुँदे सिफारिससमेत गरेको आयोग स्मरण गर्दछ। जसमा कृषि प्रविधि, उपकरण तथा सूचनाको पहुँचको अधिकार, नीतिगत निर्णयहरूमा सहभागिताको अधिकार, किसान परिचय पत्र उपलब्ध गराई विशेष सहुलियतको व्यवस्था गर्न, किसानले उत्पादन गरेको खाद्यान्नको भण्डारण र सुरक्षण, बजार व्यवस्थापन र अन्नको सुरक्षा गरी किसानसहित सबै नागरिकलाई खाद्यान्नमा सहज पहुँचको व्यवस्था गर्न लगायतका सिफारिसहरू रहेका छन्। ’ अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरूको कार्यान्वयन हुन सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१