उद्योग वाणिज्य महासंघको टोलीसँग प्रधानमन्त्री दाहालले भने–निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि कुनै कानुन बनाउँदैनौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८०, शनिबार ०५:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताएका छन् । आज (शुक्रबार) दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त कुरा बताताएका हुन् । भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइसमेत दिए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा संकट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरि कुनै पनि कानुन नबनाउने बताए ।

प्रधानमन्त्रीले भने,“हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्धन गर्ने व्यवस्था गरेको छ। अर्थतन्त्र संकटमुक्त भइसकेको छैन। यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबिच बलियो सहकार्य र एक–अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ। निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु। निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरि कुनै पनि कानुन बनाउँदैनौँ।”

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरि सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले भने,“मैले तपाईहरूको साधारणसभामा नै भनिसकेको छु ‘निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन। मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ।”

भेटमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे। “तपाईहरूले राम्रो नेतृत्व छान्नुभएको छ। नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ। हामी सबै मिलेर अर्थतन्त्रका चुनौतीहरू छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ” प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१