क्रिकेटलाई आवश्यक सम्पूर्ण इन्टरनेट पूर्वाधार वर्ल्डलिङ्कले प्रदान गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८०, बुधबार १२:०७

काठमाडौं ६ बैशाख । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ ।

देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र नेपाल क्रिकेट संघ (क्यान) बीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको एक कार्यक्रममा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गा राज पाठकले सम्झौतामा हस्ताक्षर गरे ।

तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुनसक्ने बताइएको छ ।

समझदारीमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा कम्पनीका सीईओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई विस्तार तथा प्रवर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए ।

“हामीले देशका दुर्गम स्थानहरूमा पनि सेवा उपलब्ध गराइरहेका छौं । पछिल्लो समय खेलमा पनि नेपालले प्रगति गरिरहेको छ । यसलाई देशका हरेक कुनाकुनासम्म पुर्‍याउनु हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै हामीले खेल प्रवर्द्धनमा सहयोग गरेका हौं,” उनले भने ।

सम्झौता अनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ ।

यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०