श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८०, सोमबार ०६:०१

काठमाडौं । सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो।

हिन्दू विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न मन्त्रालद्वारा गठित विश्वविद्यालय सम्भाव्यता अध्ययन समितिले अध्ययनसहितको अवधारणा–पत्र २०७९ आज पर्यटनमन्त्री सुदन किरातीलाई बुझाएको छ।

पर्यटन मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक संस्कृतविद् डा जगमान गुरुङले पर्यटनमन्त्रीलाई उक्त अवधारणापत्र हस्तान्तरण गरे।

विश्वविद्यालयको अवधारणापत्र ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले अवधारणालाई शीघ्र कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गरे।

उनले भने, “समयभित्रै महत्वपूर्ण प्रतिवेदन तयार भएको छ। यो प्रारम्भिक अवधारणा हो। यसको विस्तृत अध्ययनका लागि मन्त्रालयले समिति गठन गरेर छिट्टै विश्वविद्यालय निर्माण कार्य अघि बढाउछौँ।” श्रीपशुपतिनाथ हिन्दू विश्वविद्यालय भव्य रुपमा सञ्चालन गर्न सकिने पर्यटनमन्त्री किरातीको भनाइ छ।

गत फागुन १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट हिन्दू विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिले एक महिनाभित्रै प्रतिवेदन तयार गरेको हो।

हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास हुने विश्वास लिइएको छ।

समितिका संयोजक डा गुरुङले नेपाललाई विश्वकै अध्यात्मिक आकर्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१