जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्छौ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७९, सोमबार ०६:०९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश पार्टीलाई अभियानमा राम्रोसँग परिचालित हुन निर्देशन दिए।

गाउँगाउँमा पुगेर जनता, सहिद परिवार तथा बेपत्ताका परिवारबाट सुझाव लिएर जस्ताको तस्तै ल्याउन र पार्टी केन्द्रमा बुझाउन आग्रह गरे। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ। सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला। सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ।”

उपाध्यक्ष श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको जानकारी दिए। पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने उनले बताए।

गृहमन्त्री श्रेष्ठले जनतालाई विकास र सुशासनको अनुभूति दिने गरी सरकारले काम गरिरहेको बताए। सरकारका कामलाई जनतासम्म लैजान र जनताका विकासका आवश्यकतालाई सरकारसम्म ल्याउन पार्टीका नेता कार्यकतालाई उनले निर्देशन दिए। “जनतालाई राम्रोसँग सहज रुपमा सर्भिस डेलिभरी अहिलेको आवश्यकता हो। यसबाट मात्र जनतामा सरकारप्रति विश्वास पैदा हुन्छ”, श्रेष्ठले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१