एकीकृत समाजवादीबाट मन्त्री बन्ने सांसद्‍हरुको नाम प्रचण्डको खल्तीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७९, सोमबार ०६:४२

काठमाडौं । सत्ता समीकरण फेरिएसँगै नयाँ सत्ता गठबन्धनबाट सरकारमा सहभागिताबारे दलहरु आन्तरिक छलफलमा छन्।

कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनबाट सबै दलहरु सरकारमा सहभागी हुने तयारी गरिरहेका छन्। हाल सरकारमा माओवादी केन्द्र र जनमत गरेर दुई पार्टीमात्रै सहभागी रहँदा १६ मन्त्रालयको भार सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि टाउको दुखाइको विषय बनेको छ।

मन्त्रिपरिषद् विस्तार नहुँदा १६ मन्त्रालयका विषयगत काम, बाहिरी कार्यक्रम, राष्ट्रपति निर्वाचनलगायतका विषयमा प्रधानमन्त्री दाहाललाई भार परिरहेको छ। तत्कालै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि नजिकिएको राष्ट्रपति निर्वाचन र विश्वासको मतमा असर पर्ने भन्दै प्रधानमन्त्री दाहाल सचेत छन्।

राष्ट्रपति निर्वाचनपछि सरकारमा सहभागीताको तयारी गरेका ८ दलीय गठबन्धनभित्र मन्त्री बन्नका लागि चहलपहल सुरु भएको छ। मन्त्री बन्न खोज्ने सांसद्‍हरु यतिबेला शीर्ष नेताहरुसँग लबिङमा छन्। आफूलाई मन्त्री बनाउनेदेखि गुट/उपगुटबाट कसलाई मन्त्री बनाउनेबारे दिनहुँ शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ।

अन्य दलहरुमा सरकारमा मन्त्रीहरु पठाउनका लागि छलफल चलिरहँदा सत्ता गठबन्धनको चौथो ठूलो दलले भने मन्त्रीहरुको नाम टुङ्गो लगाइसकेको छ।

सत्ता गठबन्धनको चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागीताका लागि प्रधानमन्त्री दाहालसँग उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयको माग गरेको छ। समाजवादीको मागप्रति प्रधानमन्त्री दाहालपनि सकारात्मक रहेका बताइएको छ।

मन्त्रालयको टुङ्गो नलागेपनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफ्नो पार्टीबाट मन्त्री बन्ने सांसद्‍हरुको नाम टुङ्गो लगाइसकेको विश्वस्त स्रोतले बताएको छ।

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई भेटेर सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरुको नामपनि बुझाइसकेको अध्यक्ष नेपाल निकट एक नेताले बताए।

अध्यक्ष नेपालले धादिङ्गबाट निर्वाचित समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसाद पाण्डे, सल्यानबाट निर्वाचित उपमहासचिव प्रकाश ज्वाला र डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढाको नाम प्रधानमन्त्री दाहाललाई बुझाएको बताइएको छ।

यस्तै, बाराका सांसद् कृष्णकुमार श्रेष्ठ(किसान) र डोटीबाट निर्वाचित प्रेमबहादुर आलेको नामपनि मन्त्री बन्ने सूचीमा वैकल्पिकमा राखेर अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई नाम बुझाएको बताइएको छ।

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई नाम बुझाएपनि पार्टीभित्र निर्णय भइनसकेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१