काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । प्रधानमन्त्री दाहाल फागुन २० गते कतार जाने निश्चित् भएको उनको सचिवालयले जनाएको छ । उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन दोहा जाने भएका हुन् । दुई दिने भ्रमणको लागि उनी त्यसतर्फ जान लागेका हुन् । उनी फागुन २२ गते नै काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने खुलासा गरेका थिए । योबीचमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पनि नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री दाहाललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिने बताएका थिए ।
प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ । प्रधानमन्त्री दाहालले आजमात्रै विदेश मामिला सल्लाहकारमा डा. रुपक सापकोटालाई नियुक्त गरेका छन् । सापकोटाले चीनको प्रसिद्ध विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।
प्रतिक्रिया