देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७९, आईतवार ०६:३९

काठमाडौं । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।

नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बताए ।

उनले भने, “भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।”

राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उहाँले यसको असर नेपालमा एक÷दुई दिनयता बढेको गर्मीले आभास गराएको दाबी गरे

नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउन्छन् ।

भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ । श्रीलङ्कामा भने अन्यत्रका तुलनामा वर्षा राम्रो भएको छ । त्यसकारण गर्मीको प्रभाव बिस्तारै अग्रसर हुँदै छ ।

उनका अनुसार विश्व मौसम सङ्गठन र अमेरिकाको मौसम सङ्गठनको मौसमी विश्लेषणले पनि दक्षिण एसियामा अबको एक सातासम्म तातो वायुको प्रभाव बढ्ने औँल्याएको छ । भारतमा तातो वायु बढ्ने र हावाहुरी आउने समय एकैसाथ परेकाले त्यो वायुसँगै उच्च प्रदूषणसहितको वायु नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ ।

नेपालमा वर्षा नहुँदाको अवस्थामा ठूला सहरमा यतिखेर आन्तरिक प्रदूषणको चाप त्यसै बढी छ । त्यसमाथि भारतबाट हावाहुरीसाथ आउने तातो वायु र प्रदूषणले यहाँको वातावरण झन् दूषित हुने पोखरेलको ठम्याइ छ ।

उनले भने, “सुक्खा र तातो हावा बहनुमा समुद्रमा हाई प्रेसर सिर्जना हुनु हो, यसले पानी पार्ने वातावरण नष्ट गर्दा वातावरण सुक्खा गराउँछ र तातो हावाको बहाव बढाउँछ ।”

हिउँदमा वर्षा गराउने प्रणाली प्रशान्त महासागरमा विकसित हुन्छ । तर त्यो विगत तीन वर्षदेखि लानिनोको स्थितिमा छ । वर्षा हुन एलनिनोको स्थितिमा हुनुपर्छ । गत वर्ष केही परिवर्तन भए पनि सन् २०२१ मा यस वर्ष जस्तैको अवस्था रहँदा हिउँदे वर्षा नभएर सुक्खासँगै खडेरी परेको थियो ।

यस वर्ष पनि त्यही अवस्था दोहोरिएकाले अबका दिनमा वायु प्रदूषणसँगै डढेलो र आगलागीका घटनामा वृद्धि हुने सम्भावना झन् बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिउँदे वर्षाको सम्भावना टर्दै गएको बताएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१