के ओलीसँग प्रचण्ड टाईम पासको लागि मात्रै मिटिङ गर्दैछन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७९, आईतवार ०६:३३

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दिने मिति नजिकिएसँगै सत्ता गठबन्धनका मुख्य घटक दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुको दौडधुप बढेको छ । खासगरी सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँजस्तै भेटवार्ता भैरहेको छ । हिजोमात्रै दुई नेताले बालकोटमा अढाई घण्टा लामो छलफल गरेका थिए । सो भेटवार्तालगत्तै ओली निवासमा नेपालका लागि चिनियाँ राजदूत सोङ पुगेका थिए ।

चिनियाँ राजदूतको ओलीसँगको भेटवार्तालाई पनि राष्ट्रपतिको निर्वाचनको मुखमा भएको भेट भएर अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्रमा भने कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति नदिन दबाब छ । अधिकांश नेताहरु राष्ट्रपति कांग्रेसलाई दिएमात्रै राष्ट्रिय सहमति हुने भन्दै सोहीअनुसार लविङमा लागेका छन् । प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ता सुखद् नभएकोबारे दुवै दलका नेताहरु जानकार छन् ।

तर, प्रचण्डले भने ओलीसँगको भेटवार्तापछि दिने प्रतिक्रियामा भने आफूहरुबीच सकारात्मक कुरा भएको र एक/दुई दिनभित्रै नतिजा आउने बताउने गरेका छन् । धेरैले प्रचण्डले एमालेलाई धोका दिन लागेको चर्चा गर्ने गरेका छन् । तर, प्रचण्डले भने आफू गठबन्धन जोगाउन लागिपरेको र छिट्टै राष्ट्रपतिको उम्मेदवार पनि सहमतिमै टुँगो लगाउने बताउने गरेका छन् ।

दाहाललाई ओलीले हिजोको भेटमा पनि पुष १० गते आफ्नै निवासमा भएको सहमति सम्झाएका थिए । दाहालले आफू सहमतिकै पक्षमा रहेको भएपनि मुलुकलाई सहमतिअनुसार अघि बढाउनुपर्ने भएकोले कांग्रेसलाई पनि मिलाएर लैजाने आफ्नो दायित्व भएको सम्झाउने गरेका छन् । एमाले नेताहरुले आफूहरुले कांग्रेसले धोका दिएका दाहाललाई प्रधानमन्त्री बनाएर गुण लगाएको बताउने गरेका छन् । र, अब आफूहरुलाई गुण लगाउने पालो प्रचण्डको भएको उनीहरुको भनाई छ ।

तर, गुण तिर्ने बेलामा प्रचण्डले धोका दिन लागेको हो कि भन्ने उनीहरुको चिन्ता छ । कतिपयले दाहालले ओलीसँग गरेको भेटवार्ता र छलफललाई समय काट्ने मेसोको रुपमा पनि चर्चा गर्ने गरेका छन् । दाहालले राष्ट्रपतिको निर्वाचनलाई लिएर आफ्नो सत्ता लम्ब्याउने षड्यन्त्र गरेकोबारे एमाले र कांग्रेस दुवै दलका नेताहरुको बुझाई छ । ओलीले दाहालले धोका दिन लागेको बुझेर नै हालै सत्ता गठबन्धन लामो समय जानेबारे शंका व्यक्त गरेका थिए । उनले आफूहरु सत्ताकै लागि लतारिएर नजाने पनि अभिव्यक्ति दिएका छन् ।

२६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री दाहालले कांग्रेसको पनि मत पाएका थिए । कांग्रेसको पनि मत पाएपछि दाहालले राष्ट्रपतिको निर्वाचनमा साझा व्यक्तिको खोजी गरेका हुन् । उनमा एमालेसँग भय बाँकी नै रहेको छ । अढाई वर्षपछि सत्ताको नेतृत्व ओलीलाई सुम्पिनुपर्ने र राष्ट्रपति पनि एमालेकै हुँदा संविधानमाथि पूनः प्रहार हुने हो कि भन्ने आशंका पालेका दाहाल अहिले एमालेसँग भन्दापनि कांग्रेससँग मन बनाएर बसेका छन् ।

कांग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रचण्डलाई सरकारको नेतृत्व पाँच वर्ष नै सुम्पिने पनि प्रस्ताव गरेको छ । यदि दाहालले कांग्रेससँग सहमति नै गरेको हो भने ओलीसँग किन दिनहुँको बैठक गरेर टाईम पास गरेका हुन ? भन्दै प्रश्न पनि उठ्न थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१