गाँजा बुटी कि विष ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७९, शनिबार ०५:५७

कृष्ण आचार्य

नेपालमा कति मानिसले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन, तर हरेक गाउँमा रैथाने गाँजाका अम्मलीहरू थुप्रै भेटिन्छन् । सरकारद्वारा गाँजा प्रतिबन्धित भएका कारण यसको ओसारपसार लुकीछिपी हुन्छ । बिक्रीमा घोषित प्रतिबन्ध छ तर सहरमा किनबेच रोकिएको छैन । यसको खेती गर्नु गैरकानुनी हुन्छ । त्यसकारण प्रहरीले बेला–बेला गाँजा नष्ट अभियान चलाउँछ ।

पछिल्ला दिनमा गाँजामाथि लगाइएको कानुनी प्रतिबन्ध फुकाउने–नफुकाउनेबारे बहस बढ्दो छ । गत महिना प्रतिनिधिसभाका ५० जना सांसदले गाँजामा लगाइएको कानुनी प्रतिबन्ध फुकुवा गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरे । यसपछि गाँजा–बहसले सार्वजनिक छलफलको विषय बन्ने मौका पायो । प्रस्तावक रहेका सत्तारुढ दल नेकपाका सांसद् विरोध खतिवडाले प्रतिनिधिसभामा बोल्दै गाँजालाई वैधानिकता दिनुपर्ने माग गरेका थिए । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर व्यावसायिक खेती गर्नुपर्ने उनको जिकिर थियो ।

नेकपाका अर्का नेता केशव स्थापित पनि लामो समयदेखि गाँजामाथि प्रतिबन्ध फुकुवा माग गर्दै आएका छन् । स्थापितले त यसलाई समृद्धिको मुद्दासँग जोडेर चर्चा गर्दै आएका छन् । उनी भन्छन्, ‘कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय १५ रुपैयाँ पुगेको छ । उनीहरूले हामीसँग भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर त्यसको उत्पादन आफैंले गरिरहेका छन् । यसरी हामी झन्पछि झन् गरिब र उनीहरू धनी भइरहेका छन् ।’

२०३३ सालअघि नेपालमा गाँजाको कारोबार खुला थियो । त्यसपछि कानुन बनाएर लगाएको प्रतिबन्धको४३ वर्षपछि गाँजा फुकुवाको आवाज संसदमा उठेको हो, जसको खुलेर विरोध गर्नेहरू खासै देखिएका छैनन् । प्रतिपक्ष कांग्रेसले आधिकारिक धारणा व्यक्त नगरे पनि केही नेता गाँजा फुकुवा गर्नुपर्ने पक्षमा देखिएका छन् । त्यसैमध्येका एक हुन् कांग्रेस नेता ऋषिकेशजंग शाह । उनी गाँजा प्रतिबन्ध फुकुवा गर्नुपर्छ भनेर खुलेरै लागेका छन् । ‘यस विषयमा खुलेरवकालत गर्नेमा पार्टीमा अहिले एक्लोजस्तै छु’ उनी भन्छन्, ‘संसदमा उठेको गाँजा फुकुवाको मुद्दामा कांग्रेसले सहमति जनाउनुपर्छ भन्ने मेरो धारणा छ । नेकपाले संसदमा कुरा उठायो भन्दैमा यसलाई उसको मात्र मुद्दा सम्झिएर राम्रो काममा साथ दिनबाट हामी पछि हट्नु हुँदैन ।’

नेपाली गाँजा बजार

‘यहाँ गाँजा र चरेस पाइन्छ ।’ प्रतिबन्ध हुनुअघिसम्म वसन्तपुर, झोंछे एवं ठमेल क्षेत्रमा यस्तै साइनबोर्ड देखिन्थे । त्यतिबेला पान–सुपारी जस्तै गाँजाको बेचबिखन हुन्थ्यो । खुलमखुला, निर्वाध । गाँजाको धुँवामा मन–मग्न हुनकै लागि पश्चिमा मुलुकका तन्नेरीहरू नेपाल भित्रिन्थे । त्यससँगै जिन्स, गिटार र पप संगीत भित्रियो, जो हिप्पी संस्कृतिका रूपमा परिचित छ ।

त्यस समयको आसपास नेपालमा उत्पादित गाँजा दक्षिण एसियाली मुलुकमा निर्यात हुने गरेका विभिन्न तथ्यांक उपलब्ध छन् । २००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विगाहा जग्गामा गाँजाको खेती गर्न आह्वान गरेको थियो । त्यसअघि नागरिकले आफ्नो इच्छाअनुरूप गाँजा खेती गर्दै आएका थिए । १८७५ मा फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्न्डम अफ नेपाल’ मा नेपालको गाँजा खेतीबारे पनि उल्लेख गरिएको छ । सो समयमा नेपालमा अत्यधिक मात्रामा गाँजा खेती हुन्थ्यो । यो नेपाली समाजको आर्थिक उपार्जनको एक माध्यम भएकोसमेत पुस्तकमा उल्लेख छ ।

नेपालको तराई–मधेशसँगै मध्य र पश्चिम पहाडका जिल्लामा प्रसस्त मात्रामा उत्पादन हुने गाँजा दोस्रो विश्वयुद्धदेखि विदेशमा ब्रान्डका रूपमा बिक्री वितरण सुरु भएको इतिहासमा उल्लेख छ । सन् १९६० को दशकमा स्वतन्त्रताको नारासहित हिप्पी युगको सुरुवात भयो । युरोप, ग्रीस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हिप्पी यात्रा नेपाल आइपुग्यो । हिप्पी ट्रेलमा गाँजाको अत्यधिक व्यापार हुन थालेपछि पश्चिमा देशले हिप्पी ट्रेलका देशलाई गाँजामा कडाई गर्न निर्देशन दिए । त्यसपछि नेपालले पनि २०१७ सालमा आएको नार्कोटिक महासन्धिमा हस्ताक्षर गरेर गाँजामाथि प्रतिबन्ध लगायो । हिप्पी बनेर नेपाल आएका अमेरिकीहरू आलू औषधमा लठ्ठिएर यतै बस्न थालेपछि अमेरिकाले नेपालमाथि यस्तो प्रतिबन्ध लगाउन दबाब दिएको थियो ।

मर्सी कप्र्सले आफ्नो रिपोर्टमा गाँजामाथिको सरकारी प्रतिबन्धलाई माओवादी जनयुद्धको एउटा कारण भएको उल्लेख गरेको छ । गाँजामा निर्भर रहेका परिवारमाथि प्रतिबन्धले आर्थिक संकट आएको र उनीहरू जनयुद्धमा होमिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘३० वर्षअघिसम्म नेपालको पश्चिम पहाडी भाग सम्पन्न क्षेत्र थियो । उनीहरूसँग वर्षभरिलाई चाहिने खाद्यान्न, नुन, तेल र परिवारका हरेक सदस्यका लागि एक जोडीभन्दा बढी लत्ताकपडा, चाँदीको सिक्काले बनेका हार र बाला, सुनका आभूषण किन्न पर्याप्त पैसा हुन्थ्यो ।’ त्यो पैसा उनीहरूले गाँजाको कारोबारबाट प्राप्त गर्ने गरेको प्रतिवेदनमा लेखिएको छ । जसअनुसार सन् १९३० को सुरुवातदेखि १९७० सम्म रेड जोन नेपाली गाँजाको प्रमुख उत्पादनकर्ता थियो, जसको गुणको विश्वभर चर्चा हुन्थ्यो । दोस्रो विश्वयुद्धको दौरान नेपाली गाँजा भारतमा प्रमुख निर्यात बनिसकेको थियो । रेड जोनका जंगलहरूमा नै गाँजाका बोटहरू उम्रन्थे भने कम जनसंख्या भएको उत्तरी रुकुमका सबै भाग, उत्तरी रोल्पाका धेरै जसो भाग र पूर्वी सल्यान र सुर्खेतका केही साना क्षेत्रहरूमा गाँजाका बोटहरू पाइन्थे । बोटका बोक्राहरू पारम्पिरक रूपमा डोरी बनाउन प्रयोग गरिन्थ्यो भने त्यसबाट निस्कने खस्रो रेशमलाई झोला र राम्रो रेशमलाई मगरहरूको पारम्परिक पहिरन बुन्न प्रयोग गरिन्थ्यो । गाँजाको दाना चट्नी र अचारको मसला बन्थ्यो । आजभन्दा ४३ वर्षअघि गाँजामाथि प्रतिबन्ध लागेपछि औषधिहरूको उत्पादनसँगै यसको निर्यात पनि बन्द भयो । गाँजा खेती र उत्पादन हुन छाड्यो ।

नेपालमा प्रतिबन्ध र विश्व अभ्यास
लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (क) मा गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार–पसार गर्न, सञ्चय गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ । जसअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र दुई हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । यसको व्यवसाय वा कारोबार गर्ने व्यक्तिलाई गाँजाको परिणामअनुसार हदसम्म जन्मकैद र ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

ऐनमा भाङ, गाँजा मूलका जुनसुकै बोट, पात, फूलका साथै बोटबाट आउने चोप, खोटो र चरेसलाई लागूऔषध किटान गरेको छ । यी चिज मिसाएर बनाइने औषधिलाई पनि ऐनमा लागू औषधकै श्रेणीमा राखिएको छ ।

तर, अहिले विश्वका ६५ भन्दा बढी देशले गाँजामाथिको प्रतिबन्ध हटाइसकेका छन् । छिमेकी देश भारतले गाँजा खेतीबाट वार्षिक ६ खर्ब आर्थिक उपार्जन गरिरहेको विभिन्न तथ्यांकले देखाएको छ । थाइल्यान्डमा पनि हालसालै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर औषधिका रूपमा प्रयोग गर्न तथा खेती गर्न खुला गरिएको छ । क्यानाडामा वि.सं. १९७९ मा प्रतिबन्धित गाँजा विं सं. २०५७ देखि औषधि प्रयोजनका लागि खुला गरियो । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले त हालसालै गाँजाको व्यक्तिगत प्रयोग र खेतीमा प्रतिबन्ध लगाउनु ‘नागरिकको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हुने’ फैसला गरेको थियो ।

नेपालले अमेरिका तथा युरोपेली देशको लहलहैमा लागेर यसरी गाँजामाथि प्रतिबन्ध लगाएको तर्क यतिबेला बहसमा छ । ती देशहरू आफैंले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुलाई त्यसको प्रमाण मानिएका छ । पश्चिमा देशहरूले गाँजामाथि प्रतिबन्ध लगाएर अन्य देशलाई दबाब दिएको नेकपा सांसद विरोध खतिवडाको तर्क छ । उनी भन्छन्, ‘अहिले उनीहरूले गाँजाखेती फुकुवा गरेर राम्रै आयआर्जन गरिरहेका छन् । हामी भने उनीहरूले देखाएको पुरानो बाटोमा हिँडेर राम्रै सम्भावना पनि गुमाइरहेका छौँ ।’

नेपालले राष्ट्रसंघको महासन्धि ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ मा हस्ताक्षर गरेको छ । जहाँ गाँजालाई हिरोइनजस्तै कडा लागूऔषधको दर्जा दिइएको छ । केही देशले गाँजाजन्य औषधि बनाउने शर्तमा सो महासन्धिमा हस्ताक्षर गरेका छन् । क्यानाडाले मेडिकल र गैरमेडिकल दुवै उद्देश्यमा गाँजाजन्य पदार्थको प्रयोगमा छुट पाउने सर्तमा सो सन्धिमा हस्ताक्षर गरेको थियो । नेपालले भने महासन्धिमा रहेका सबै शर्तहरू कबुल गरेको छ । त्यसैले, नेपालमा गाँजा फुकुवा गर्नका लागि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ परिमार्जन गरेर मात्र हुँदैन । नार्कोटिक महासन्धिमा पनि आवेदन दिनुपर्छ ।

नेपाललाई गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिएको संयुक्त राष्ट्रसंघले पछि गाँजालाई वैद्यानिकता दियो । कोफी अन्नान संयुक्त राष्ट्रसंघको महासचिव हुँदा २०६० सालतिर अन्तर्राष्ट्रिय रूपमा गाँजाको अनुसन्धान गर्न लगाएका थिए । त्यतिबेला विश्वको सबैभन्दा उच्चतम गाँजाको क्वालिटी नेपाल र थाइल्यान्डको गाँजामा भेटिएको थियो । सांसद खतिवडा भन्छन्, ‘त्यसपछि संयुक्त राष्ट्रसंघले नेपाललाई पत्र पठाएको रहेछ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाको त्यो समयमा त्यसका लागि केही चहलपहल पनि सुरु भएको रहेछ । तर, छिमेकीहरू रिसाउँछन् भनेर हो कि किन हो प्रक्रिया अगाडि नबढेर थन्किएछ ।’ जानकारहरूका अनुसार त्यतिबेला नेपालमा गाँजामाथि प्रतिबन्ध लागेपछि भारतको गाँजाले बजार पाएको थियो । त्यसैले नेपालमा प्रतिबन्ध फुकुवा नगर्न भारतको दबाब थियो ।

गाँजा : औषधि कि लागूऔषध ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको अनुसन्धानले गाँजालाई ९८ प्रतिशत औषधिजन्य वनस्पति हो भनेर प्रमाणित गरेको छ । यसको बोटानिकल नाम क्यानाबिस स्याटिवा हो । आयुर्वेदमा समेत गाँजाको औषधिय महत्व छ ।

आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । औषधि बन्ने क्रममा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ ।

अथर्व वेदअनुसार पाँच आधारभूत वनस्पतिमा गाँजा पर्छ । यसले स्वतन्त्रता, खुसी र एकाग्रता प्रदान गर्छ । विभिन्न रोग लाग्दा गाँजाको पात, फूल र फल खुवाउने चलन पनि छ । गाँजाको फल भाङ्ग पनि स्वास्थ्यवद्र्धक मानिन्छ । कोलेरा, कोलाइटिज, मानसिक रोग, रुघाखोकी, ज्वरो आदिमा गाँजाको थोरै मात्रा हालेर औषधि बनाइन्थ्यो । गाँजा मानिसलाई मात्र नभएर जनावरका लागि पनि फाइदाजनक मानिन्छ । गाउँघरमा गाईवस्तु बिरामी हुँदा गाँजाको पात खुवाउने चलन छ । एक व्यक्तिले ६० देखि १ सय २५ एमजीसम्म गाँजा खाँदा स्वास्थ्यका लागि हानिकारक हुँदैन ।

सिंहदरबार वैद्यखानाको अभिलेखअनुसार आयुर्वेदमा गाँजालाई ‘विजया’ नामले चिनिन्छ । जसबाट बनेका औषधिको प्रयोगले मानसिक रोग, शीघ्र स्खलन, अनिद्रा, झाडापखाला, अत्यधिक पीडाजस्ता रोग तथा समस्याको निराकरण हुन्थ्यो । गाँजाको कण मिसाएर तयार पारिने ‘मोदनानन्द मोदक’ मानसिक रोग, ‘रातोबरी’ छाडापखाला,

‘त्रिभुवन कृति रस’ ज्वरो आएको, ‘नारदीय लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने र ‘सर्पगन्धा’ उच्च रक्तचापका बिरामीका लागि औषधि हुन् । शीघ्र स्खलन रोक्नका लागि ‘पूर्णचन्द्रोदय रस’ र ‘भोग सुन्दरीको टीका’ नामक औषधि विशेष महत्वका छन् ।

वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप खरेल २०३२ सालसम्म वैद्यखानाले गाँजाबाट बनेका थुप्रै औषधिहरू बनाउने गरेको भए तापनि प्रतिबन्धपछि त्यस्ता औषधिको उत्पादन बन्द भएको बताउँछन् । भन्छन्, ‘प्रतिबन्धपछि स्टोरमा बाँकी रहेका औषधि केही समय बिक्री भयो । रातोबरीले २०४६–४७ सालतिर छाडापखालाको प्रकोप फैलिएको बेला प्रकोप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको वैद्यखानाको अभिलेखमा उल्लेख छ ।’ दुई चक्की प्रयोग गरेको खण्डमा यो औषधिमा कडा झाडापखाला तत्कालै रोक्नसक्ने क्षमता रहेको उनले जानकारी दिए । फ्लु चलेको बेलामा पनि गाँजाबाट बनेका औषधिको प्रयोग उत्तम रहेको अभिलेखमा उल्लेख छ ।

गाँजा रोप्ने कि मास्ने ?
गाँजाको सन्दर्भमा नेपाली समाज द्विविधाग्रस्त छ । एकथरी भन्छन्, यो औषधिय महत्वको वनस्पति हो । अर्काथरीले यसलाई लागूऔषधका रूपमा व्याख्या गर्छ । आयुर्वेद शिक्षण अस्पतालका प्रमुख डिबी रोका गाँजाको औषधिय महत्वमा जोड दिन्छन् । यसबारे नेपाली परम्परागत ज्ञान मासिने वा चोरिने अवस्थामा रहेक ाले व्यवस्थित गर्दै लानुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यस्तो मूल्यवान चिजको महत्व नबुझेर यसमाथि अझै पनि प्रतिबन्ध लगाइराख्ने हो भने हामीले समृद्धिको कल्पना नगरे पनि हुन्छ ।’ समाजमा यसले असर पुर्‍याउने अवस्थामा गाँजाको प्रयोगका सम्बन्धमा कानुनी रूपमा कडाइ गरेर जानुपर्ने उनको भनाइ छ ।

गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ । तर, उनीहरूले आफूले पढेका कुरालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउन सकेका छैनन् । वैद्यखानाका प्रबन्ध निर्देशक खरेल फुकुवा भएको खण्डमा गाँजाको प्रयोग गरेर औषधिजन्य वस्तुको उत्पादन गर्न आफूहरू सक्षम रहेको बताउँछन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भने गाँजा फुकुवा गर्दा औषध दुव्र्यसनीलाई सहजता हुने बताउँछन् । उनी दुव्र्यसनीका कारण थुप्रै अपराधका घटना भएको, परिवारमा विखण्डन आएको र युवा पुस्ता सामाजिक दायित्वबाट बिमुख भएकाले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्दा प्रशस्त गृहकार्य गर्नुपर्नेतिर औंल्याउँछन् । उनी भन्छन्, ‘फुकाउने नै हो भने नियन्त्रण कसरी गर्ने भन्ने कुरामा पहिल्यै प्रष्ट हुनुपर्छ र सोहीअनुसारको नीति–नियम पनि बन्नुपर्छ ।’

शिवरात्रिमा गाँजा निषेध छ
घनश्याम खतिवडा कार्यकारी निर्देशक, पशुपति विकास कोष

पशुपति क्षेत्र धार्मिक एवं सांस्कृतिक महत्व बोकेकाले यहाँ लागूजन्य पदार्थको सेवनमा रोक लगाइएको छ । समाजलाई विकृत बनाउने किसिमका गाँजा, भाङ्ग धतुरोलाई वर्जित गर्नुपर्छ । सधैं जसो यो पटक पनि प्रतिबन्ध लगाइएको छ । पशुपति आसपासका क्षेत्रमा गाँजा किनबेच गरिएको भेटिएमा कारबाही हुनेछ ।

हुनसक्छ, भगवान शिवले भाङ्ग धतुरो सेवन गरे होलान् । भगवान् स्वयम् अग्नि हुन् त्यसैले भगवान्ले सबै कुरा पचाउनुहुन्थ्यो भन्ने धार्मिक मान्यता छ । शिवजी र भाङ्ग धतुरोबीच फरक ढंगले अर्थ खोजिनुपर्छ । तर, भगवान् शिवजीले भाङ र धतुरो खाए भन्दैमा हामीले त्यसलाई प्रसाद मान्नु गलत हो । किनभने हामीले गाँजाको औषधिय महत्व एवं मूल्यलाई बुझ्ने भन्दा पनि त्यसको नसामा डुब्ने प्रवृत्ति अपनायौं । गाँजा सेवन गर्नुपर्छ भनेर पुराण वा कहि कतै लेखिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१