नसर्ने रोगको रोकथाममा आयुर्वेदको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ कार्तिक २०७१, बुधबार १३:४१
काठमाडौं.५ कार्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले नेपालमा बढ्दै गएको नसर्ने रोगको
रोकथाममा आयुर्वेद चिकित्साको भूमिका महत्वपूर्ण हुने बताएका छन् । धन्वन्तरी दिवस तथा सिहंदरबार बैद्यखानाको  बिसौं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मानिसले आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने हो भने विभिन्न खालका दीर्घरोग र नसर्ने रोग लाग्नबाट बच्ने बताए । ‘हामी चुरोट, रक्सी, बिँडीजस्ता कुरा नखानुहोस् भनेर जनचेतना जगाइरहेका छौं । तर, मानिसको व्यवहारमा परिवर्तन आउन सकेको छैन, यिनै कारण क्यान्सर, हृदयाघातजस्ता नसर्ने रोग लागेपछि सरकारले उपचार गरेन भनेर मात्र कराउने जमात धेरै छन्, पहिला व्यवहारमा परिर्वतन त गर्नुहोस् ’  अधिकारीले भने । उनले आयुर्वेद क्षेत्रमा भएका गलत काम र सुचनालाई समेत रोक्नुपर्ने आवश्यकता औंल्याए ।  जडीबुटीको संरक्षण र प्याटेन्ट राइट लिन सरकारले चासो नदिएको पनि मन्त्री अधिकारीले स्वीकारे । कार्यक्रममा स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले आयुर्वेद क्षेत्रले आफूलाई समयअनुसार विकास गर्न नसकेको बताए । ‘म सानो (५÷६ वर्ष) उमेरमा जाँदा जुन हातलमा नरदेवी अस्पताल देखेको थिएँ,  आज ५०–५५वर्षको हुँदासमेत त्यही हालतमा छ,  किन यसलाई विकास गर्न सकिएन ?’ उनको प्रश्न थियो । आयुर्वेद क्षेत्रको विकासमा कसरी जाने भन्ने विषयमा मन्त्रालयसमेत स्पष्ट हुन नसकेकाले सबै निकाय बसेर छलफल गर्न आवश्यक रहेको श्रेष्ठको भनाई थियो । आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्ययले कम बजेट, अध्ययन अनुसन्धान तथा नीति नियमको कमीका कारण आयुर्वेद समस्यामा परिरहेको बताए । नेपाली आयुर्वेद औषधि उद्योगलाई आवश्यक जडीबुटी नेपालमा नै पाइने भए पनि भारतबाट ल्याउनुपर्ने स्थिति रहेको र नेपालमा जडीबुटी ओसारपोसारमा समेत समस्या रहेको उपाध्यायले बताए ।  उनले गुणस्तरीय औषधि उत्पादनमा समेत ध्यान दिन संबन्धित आयुर्वेद औषधि कम्पनीलाई आग्रह गरे । ‘अब सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडेलमा गएर जडीबुटीको उत्पादन, संकलन तथा सहज ओसारपोसारमा सरकारले नयाँ नीति बनाउनु आवश्यक छ ।’ उनले भने । वन विभाग र वनस्पति विभागले आयुर्वेद क्षेत्रसँग समन्वय नगरेको पनि उनको भनाई छ । रासस 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१