धूमपानको सेवनबाट मानव स्वास्थ्यलाई पार्ने १३ गम्भीर असर

suman100@gmail.com' suman basnet
२४ पुष २०७९, आईतवार १०:२७

१. फोक्सोमा क्षति :  धूमपान गर्दा शरीर भित्र छिर्ने निकोटिन र अन्य केमिकलले मानव शरीर भित्रको फोक्सोलाई क्षति पुरयाउने गर्दछ ।
चुरोट फोक्सोको क्यान्सरको जोखिम बढाउने प्रमुख कारक हो ।

चुरोट सेवन गर्ने पुरुषमा २५ गुणा र महिलामा २५.७ गुणा बढीले फोक्सोको क्यान्सर हुने जोखिम रहन्छ ।  सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार क्यान्सर रोग लागेर मृत्यु हुने १० जना मध्ये ९ जना चुरोट सेवनकर्ता हुन् ।

यस्तै धूमपान गर्ने व्यक्तिमा क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डर (सीओपीडी)बाट हुने र मृत्यु हुने जोखिम बढाउँछ । अमेरिकन लंङ्ग एसोसिएसनका अनुसार सीओपीडीबाट हुने कुल मृत्युको ८० प्रतिशत कारण धूमपान हो ।

चुरोटले शरीरमा एम्फिसेमा र क्रोनिक ब्रोन्काइटिसको विकास गर्न पनि मद्धत गर्दछ । यस्तै दम बढाउन पनि मद्धत गर्दछ ।

२. मुटु रोग देखापर्छ : चुरोट सेवन गर्दा मुटु, रक्तनली र रक्तकोषहरुमा क्षति पुग्दछ । चुरोटमा हुने केमिकल र टारले धमनीमा कडापन हुने अवस्था एथेरोस्क्लेरोसिसको जोखिम बढाउँछ । जसले रक्तनलीहरुमा अवरोधक प्लाक थुप्रिनसक्छ । त्यसले रक्तप्रवाहमा खतरनाक अवरोध सिर्जना हुन सक्दछ । धूमपानले धमनीसम्वन्धी एक किसिमको रोग पेरिफेरल आर्टरी डिजिजको जोखिम पनि बढाउँछ । हात खुट्टाको धमनीहरु साँघुरो हुँदै जाँदा यसले रगत प्रवाहमा समेत अवरोध सिर्जना गर्दछ र यो समस्या देखिन थाल्छ । धूमपान गर्ने मानिसहरुमा रगत जम्ने, एन्जाइना वा छाती दुखाई, मस्तिष्क घात र हृदयघात लगायतका समस्याहरु देखा पर्दछ ।

३. प्रजनन स्वास्थ्यमा समस्या :  धूमपानले महिलाहरुको प्रजनन प्रणालीलाई हानी पुरयाउन सक्छ । गर्भवती हुन अझ गाह्रो हनसक्छ । सुर्तीजन्य पदार्थमा रहेका रसायनहरुले हार्मोनको स्तरलाई असर गर्ने भएकोले यस्तो हुने हो । यस्तै चुरोट नियमित सेवन गर्ने पुरुषहरुमा यौन दुर्वलताको समस्या देखिने सम्भावना बढी हुन्छ । यस्तै शुक्रकिटको गुणस्तरमा पनि असर पार्दछ र प्रजनन क्षमता पनि घटाउँदछ ।

४. गर्भावस्थामा जटिलताको जोखिम : सीडीसीका अनुसार धूमपानको प्रयोगले गर्भावस्था र गर्भभित्र विकसित हुँदै गरेको भ्रूणलाई पनि धेरै तरिकाले असर गर्न सक्दछ । जस्तो कि अक्टोपिक गर्भावस्ताको जोखिम बढ्छ, कम तौलको बच्चा जन्मन सक्छ । पूर्व प्रसवको जोखिम बढ्न सक्छ । भ्रुणको फोक्सो, मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीलाई नोक्सान पुरयाउँछ । जन्मजात असामान्य समस्या निम्त्याउन सक्छ ।

५. टाइप टू डायविटिजको खतरा : सीडीसीका अनुसार जो व्यक्ति नियमित रुपमा धूमपान गर्छ उसलाई धूमपान नगर्नेहरुलाई भन्दा टाइप २ डायविटिज हुने खतरा ३० देखि ४० प्रतिशत बढी हुन्छ । यस्तै डायविटिज भइसकेकाहरुलाई उनीहरुको जीवन अवस्था व्यवस्थापन गर्न समेत कठिन हुन्छ ।

६. कमजोर प्रतिरक्षा प्रणाली : चुुरोट सेवन गर्ने मानिसहरुको रोग प्रतिरक्षा प्रणाली कमजोर बन्दछ । यसले रोग लाग्ने सम्भावना बढी हुन्छ । यस्तै शरीरमा सुजनको जोखिम पनि बढाउँछ ।

७. आँखा देख्ने क्षमतामा समस्या : चुरोट सेवन गर्ने व्यक्तिमा आँखा देख्ने क्षमतामा समेत समस्या आउँछ । मोतियाविन्दु लगायतका समस्या पनि बढी हुन्छ । यस्तै आँखा सुख्खा हुने, मोतियाविन्दु हुने, मधुमेह रेटिनोथेरापी हुने क्रम पनि बढी हुन्छ ।

८. मुख स्वास्थ्यमा समस्या : चुरोट सेवन गर्ने व्यक्तिमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी समस्या विशेषगरी गिजा रोग सम्बन्धी समस्या दोब्बरले थपिन्छ । जस्तो कि गिजा सुन्निने, कमजोर हुने, ब्रस गर्दा रगत बग्ने, दाँत हल्लिने, झर्ने लगायतका समस्या हुन्छ । यस्तै धूमपानले चीजको स्वाद तथा गन्धको क्षमतालाई सीमित गर्न सक्छ । यसले दाँतमा पहेँलो वा खैरो दाग पनि लगाउन सक्छ ।

९. छाला, कपाल र नङहरुमा असर : चुरोट सेवन गर्ने मानिसलाई इन्टिगुमेन्टरी प्रणालीमा असर गर्दछ । त्यो भनेको व्यक्तिको छाला, कपाल र नङहरु हुन्छन् । धूमपानले मानिसको छाला र कपाललाई असर गर्न सक्छ । धूमपान गर्ने व्यक्तिले समय अघि नै बुढो हुने, छालामा चाउरी परेको अनुभव गर्न सक्छ । अमेरिकन ओस्टियोपेथिक कलेज अफ डर्माटोलोजीका अनुसार धूमपानका केही दीर्घकालिन प्रभावहरु समावेश छन् ।

१०. अन्य क्यान्सरको जोखिम : धूमपानले फोक्सोको क्यान्सर मात्रै होइन अरु थुप्रै क्यान्सरहरु गराउन पनि मद्धत गर्दछ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार धूमपानले प्यान्क्रियाटिक क्यान्सरको जोखिम २० देखि ३० प्रतिशत बढाउँछ । धूमपान गर्ने मानिसहरुमा पिसावको क्यान्सर हुने सम्भावना तीन गुणाले बढी हुन्छ ।

धुमपान गर्ने व्यक्तिमा पेटको क्यान्सर हुने जोखिम दोव्वर बढी हुन्छ । अनुसन्धानले सुर्तीजन्य पदार्थलाई पेटको माथिल्लो भागमा, अन्ननली नजिकैको क्यान्सरसंग जोडेको छ । यसलाई इसोफेगल क्यान्सर भनिन्छ । यस्तै मुखको क्यान्सर, घाँटीको क्यान्सर, मिर्गौला सम्वन्धी क्यान्सर, पाठेघरको क्यान्सर, कलेजो क्यान्सर, कोलन क्यान्सर, एक्युट माइलोइड ल्युकेमिया हुने सम्भावना पनि निकै नै बढी हुन्छ ।

११. पाचन प्रणालीमा समस्या : धूमपानले पाचन प्रणालीमा पनि समस्या निम्त्याउँछ । आन्द्रा सम्वन्धी विकारहरु विकास हुने एक प्रमुख कारण धूमपान हो । धूमपान गर्नेहरुलाई ग्यास्टाइटिस, पेटको अल्सर सुजन हुने सम्भावना बढी हुन्छ । जसले उनीहरुको पेट वा आन्द्रामा अल्सर निम्त्याउन सक्छ । धूमपानले पेट खाली गर्न ढिलो हुने र पेरिस्टालिसिस सुस्त हुन सक्छ ।

१२. स्नायू प्रणालीमा असर : केन्द्रीय स्नायुप्रणाली मस्तिष्क र मेरुदण्ड हो । जसले सबै शारीरिक र मानसिक गतिविधिहरु नियन्त्रण गर्दछ । धूमपान गर्नेको केन्द्रीय स्नायु प्रणालीमा क्षति पुग्छ किनभने निकोटिनले रक्तचाप र मुटुको धडकन बढाउँछ । जसले गर्दा समयसंगै यी अंगहरु कमजोर हुन्छ । सन् २०२१ को एक अध्ययन अनुसार धुमपान, सुर्तीजन्य पदार्थ र निकोटिनले स्नायु सम्वन्धी स्वास्थ्यमा गम्भीर असर गर्दछ ।
यस्तै अल्जाइमर, मल्टिपल स्क्लेरोसिसको लागि धूमपान एक जोखिम कारक हो भनेर रिपोर्ट गर्दछ ।

१३. सेकेन्ड ह्याण्ड स्मोकिङ्गको असर :
धूमपानको असर धूमपान गर्ने व्यक्तिलाई मात्रै हुँदैन । यसको असर संगै बसेका अन्य व्यक्तिलाई पनि हुन्छ । जसलाई सेकेण्ड ह्याण्ड स्मोकिङ्ग भनिन्छ । यस्तै धुवाले फोक्सोको क्यान्सर निम्त्याउँछ । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार सेकेण्ड ह्याण्ड स्मोकिङ्ग गर्ने व्यक्तिहरुमा घाँटी, स्तन क्यान्सर हुने सम्भावना पनि बढ्छ । बाहिर मात्रै होइन गर्भमा रहेको भ्रुणमा पनि यसको असर हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०