खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार १५:३४

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताइन् ।

सम्भाव्यता अध्ययनपछि आवश्यकताका आधारमा मात्र बहुतले भवन निर्माण गरिने उल्लेख गर्दै उनले सार्वजनिक एवं खुला स्थानको संरक्षण गरिनुपर्नेमा महानगर दृढ रहेको बताइन् । पार्किङका लागि अन्य विकल्प पनि भएको विषयमा पनि छलफल भइरहेको उपप्रख डङ्गोलको भनाइ थियो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माण गरिए वीर अस्पतालका बिरामीका लागि पनि असर गर्ने भएकाले यस्तो निर्णय फिर्ता लिन आग्रह गरे ।

खुलामञ्च र टुँडिखेलको थोरै भागमात्र बाँकी रहेकाले यसको संरक्षण गरेर राखिनुपर्ने बताउँदै उनले राजधानीका धेरै पोखरी, धारा मासिए जसरी खुलामञ्चलाई मास्न नदिने प्रतिबद्धता जनाए । अभियानले विसं २०७६ कात्तिक २३ गतेदेखि मुक्त टुँडिखेल अभियान सञ्चालन गर्दै आएको छ ।

ज्ञापनपत्र बुझाउँदै अभियानका संयोजक विजय श्रेष्ठले यसलाई हल्का रुपमा लिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताए । दशरथ रङ्गशालाबाट रानीपोखरीसम्मको भागलाई बचाउन अभियानले काम गरिरहेको उनले सुनाए । प्राकृतिक रिचार्ज क्षेत्रलाई कब्जा गर्नेगरी पार्किङसहितको बहुतले भवन निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव बनाउने तयारी गरिएकामा पनि अभियानले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१