अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् ।
सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ प्रदान ग¥यो ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो ।
विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । यस कार्यक्रम अन्तर्गत परिचयपत्र प्राप्त गर्ने १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।
बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरिप्रसाद रिमाल, लेखक तथा निर्देशक चेतन कार्की, कलाकार शुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भइसकेको थियो ।
चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा १ लाख रुपैयाँ प्राप्त गर्न सकिने भएको छ ।
राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न आग्रह गरे । अहिलेसम्म यस्तो दाबी गर्ने कलाकार अधिकारी मात्रै भएको भन्दै उनले दाबी पेस गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने जनाए ।
बीमा रकम ग्रहण गर्दै कलाकार अधिकारीले बोर्डलाई धन्यवाद दिए । ‘बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सक्नुहुन्छ,’ अधिकारीले भने ।
बोर्ड अध्यक्ष केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए । ‘सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन,’ उनले भने, ‘यति रकमले त केही पनि हुँदैन, यद्यपि यो एउटा सुरुवात हो ।’
प्रतिक्रिया