MBL_Ad

अभिनेत्री सुहाना थापाको नयाँ व्यवसाय सुरू

suman100@gmail.com' suman basnet
१३ पुष २०७९, बुधबार १२:०६

अभिनेत्री सुहाना थापाले फिल्म वितरण व्यवसाय थालेकी छन्। उनले समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुलाबी’ बाट फिल्म वितरण व्यवसाय थालेकी हुन्।

उनी सीइओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’ वितरणबारे सम्झौता गरेको हो। मंगलबार सुहाना र निर्देशक भट्टबीच औपचारिक सम्झौतापत्र आदान-प्रदान गरिएको छ।

फिल्मको प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ। ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो।

राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुवै कम्पनीसँग सम्झौता गरिएको निर्देशक भट्टले बताइन्। फिल्ममा समावेश एक गीतको छायांकन गरेसँगै फिल्मको पनि छायांकन सम्पन्न भएको छ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन्। पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको अभिनय छ।

फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। यो फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।

अभिनेत्री सुहाना थापा निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी छाेरी हुन्। उनी पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा देखिएकी थिइन्।

प्रतिक्रिया