तार्केश्वरमा टिपरको ठक्करले घाइते भएका युवकको हत्या गरेको आरोप

suman100@gmail.com' suman basnet
२७ मंसिर २०७९, मंगलवार १३:४२

काठमाडौंको तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा एक युवकको शंकास्पद मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीनपिप्लेका अन्दाजी २३ वर्षीय सविन फुयालको मृत्यु भएको हो। मृतकका आफन्त तथा स्थानीयले उनको हत्या भएको बताएका छन्।

आइतबार राति तीनपिप्लेमा ठूलो आवाज आएको भन्दै प्रहरीलाई रिपोर्टिङ भएको थियो। आवाज आएपछि स्थानीय तथा प्रहरी घटनास्थलमा पुगेका थिए।

बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको अवस्थामा फेला परेको थियो। तर सविनको शव भने घटनास्थलभन्दा केही पर फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष परशुराम अर्यालले बताए। त्यसपछि सविनलाई ग्रिनसिटी अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

सुरूमा बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएपछि घाइते भएका सविनलाई चालकलगायतले मिलेर हत्या गरेको वडाध्यक्ष अर्याल बताउँछन्।

‘यो घटना नियोजित नै थियो। दुर्घटना सँगसँगै हत्या पनि भएको हो,’ वडाध्यक्ष अर्यालले भने, ‘टिपरले ठक्कर दियो। त्यसपछि दुर्घटनास्थलमै हुनु पर्ने शवलाई पर रहेको बालुवाको रासमा लगेर घाँटी रेटेर हत्या गरेको भन्ने छ।’

मृतक पक्ष तथा स्थानीयले उनको हत्या नै भएको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

यसरी हत्या गरेको भन्दै सोमबार त्यहाँका स्थानीय तथा मृतक पक्षले आन्दोलनसमेत गरेको थियो। प्रहरीका अनुसार करिब ४ सय जना मान्छेहरूले आन्दोलन गरी ढुंगामुढा गरेका थिए।

आन्दोलनका क्रममा उनीहरूले महालक्ष्मी एन्ड बलामी डिपोका चार वटा टिपरमा समेत क्षति पुर्‍याएका छन्। यस डिपोका टिपर चालक र सहचालकले नै मिलेर यो घटना गरेको उनीहरूको आरोप छ।

घटनामा एक जना प्रहरी निरीक्षकसहित पाँच जना सामान्य घाइतेसमेत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार एउटा प्रहरीको मोटरसाइकल समेत जलाइएको थियो। उक्त मोटरसाइकल पूर्ण रूपमा क्षति पुगेको छ।

यसरी क्षति पुर्‍याउने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि मुद्दा चलाउने/नचलाउने भन्नेबारे छलफल भइरहेको प्रहरीको भनाइ छ।

यस्तै प्रहरीले दुर्घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डिपो सञ्चालक विमल बलामी र चालक शिव बलामी छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर दुर्घटनाको मुद्दा चलाएर अनुसन्धान गर्न लागेको पीडित पक्षको आरोप छ। अहिले प्रहरी वृत्त बालाजुमा मृतक पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्।

यता प्रहरीले सविनको मृत्यु हत्या हो वा दुर्घटना भनेको छैन। एसपी मैनालीले यसबारेमा अनुसन्धान नै सुरू गर्न नसकेको बताए।

‘एक जनाको मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरीको टोली पुग्यो। तर घटनाको अनुसन्धान नै गर्न नसकिने गरी प्रदर्शन सुरू भयो,’ उनले भने, ‘अनुसन्धान गर्न दिएको भए के भएको हो थाहा हुन्थ्यो। तर ढुंगामुढा, आगजनी गरेर अनुसन्धान नै अघि बढ्न सकेन।’

सविनको पोष्टमार्टम गर्न शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उक्त पोष्टमर्टमको रिपोर्टबाट पनि घटनाबारे केही थाहा हुने उनी बताउँछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१