व्यक्तिबाट लाखौं असुल्न खोज्ने तीन जना पक्राउ

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार १४:१४

व्यक्तिगत सम्बन्ध र चिनजानका आधारमा महिला प्रयोग गरी एक व्यक्तिबाट लाखौं असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्।

दाङको गढवा गाउँपालिका वडा नं. ६ माइती घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ दशरथ टोल बस्दै आएकी ३५ वर्षीया कृष्णी गहतराज (विश्वकर्मा), घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका २७ वर्षीय जनक भनिने रूद्रबहादुर केसी र तुलसीपुर–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत पक्राउ परेका छन्।

३५ वर्षीया कृष्णीले तुलसीपुरका एक पुरुषसँगको सम्बन्धका कारण मोटो रकम बार्गेनिङ गर्दै आएको हुँदा पीडितको जाहेरीका आधारमा प्रक्रा गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार उनले विभिन्न व्यक्तिहरूलाई फरक–फरक आफ्नो परिचय बताउने गरेकी थिइन्। कतिलाई उनले दुर्गी भनेर पनि परिचय दिने गरेकी थिइन्।

‘पाँच करोडदेखि बार्गेनिङ सुरू गरेको तथ्य खुलेको छ र पटक पटक गरी झन्डै २० लाख रुपैयाँ असुलेको खुलेको छ,’ डिएसपी गौतमले भने ‘ यसमा अरूहरू पनि जोडिएको भन्ने छ र थप अनुसन्धान बाँकी नै छ।’

केही वर्ष पहिले कृष्णी र ती पुरूषको बीचमा चिया गफका क्रममा चिनजान भएको थियो। महिलाले दुःख देखाएपछि पीडित भनेका पुरुषले उनलाई खर्च दिँदै आएका थिए। त्यही क्रममा उनीहरूका बीचमा शारीरीक सम्बन्ध पनि हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताए।

एक वर्ष पहिला उनीहरूका बीचमा जे–जस्तो भए पनि अबदेखि एक अर्कालाई कुनै यातना नदिने सर्तमा बाँकेको नेपालगञ्जमा कागज पनि भएको थियो।

‘वकिललाई कागज लेख्न पठाई ती पुरुषले विश्वकर्मालाई झन्डै १५ लाख दिएको देखिन्छ,’ डिएसपी गौतमले भने, ‘तर,पनि ती महिलाले सहमतिविपरीत विगतका प्रमाणहरू संकलन गरी पटक/पटक बार्गेनिङ गर्दै आएको खुलेको छ।’

यो बीचमा पनि ती पुरुषले घर परिवार र आफन्त कसैलाई नभनी एक्लै आफ्नो समस्या समाधानको विकल्प खोज्दै आएका थिए। विश्वकर्माले कि नगद दिन त्यो सम्भव नभए घर वा घडेरी आफ्नो नाममा गरिदिन चेतावनी दिँदै आएकी थिइन्।

पछिल्लो समय उनले सोही व्यहोराको म्यासेज ती पुरुषका आफन्त मात्रै नभई श्रीमती र छोरीलाई समेत म्यासेज पठाउने गरेकी थिइन्।

विश्वकर्माले म्यासेज गर्दै पाँच करोडसम्म नदिए बलात्कारको मुद्दा हालिदिने चेतावनी दिँदै आएकी थिइन्।

श्रीमती र छोरीले समेत विश्वकर्माको धम्की र बार्गेनिङको यातना खेप्नु परेपछि उनीहरूकै ढाडस तथा सहयोगमा पीडित पुरुष जिल्ला प्रहरी कार्यालयमा पुगेर लिखित जाहेरी दिएका थिए।

पछिल्लो समय मंसिर १६ गते बेलुका ५ बजे घोराही–१७ स्थित कबिला रिसोर्टमा विश्वकर्माले ती पुरुषलाई पैसा लिएर आउन चेतावनी दिएकी थिइन्। जहाँ ती पुरुष करिब पाँच लाख रुपैयाँ लगेर विश्वकर्मालाई बुझाउन गएका थिए।

त्यो सूचना थाहा पाएर पुगेको प्रहरीले विश्वकर्मालाई रकम बुझ्दै गर्दा नियन्त्रणमा लिएको डिएसपी गौतमले बताए।

पक्राउ परेका अन्य दुई जनाले पीडित पुरुषलाई पटक/पटक फोन सम्पर्क गर्ने, चिया नास्ता खान बोलाउने अनि कहिले महिला अधिकार र मानव अधिकारका कुरा गर्दै रकम तिर्न दबाब सृजना गरेको तथ्य खुलेको डिएसपी गौतमले जानकारी दिए।

‘विश्वकर्मालाई देखाएर उनीहरू दुई जना पनि पीडितबाट रकम असुल्ने र बाँडीचुडी भागबण्डा गर्ने गरेको नियत खुलेको छ, डिएसपी गौतमले भने, ‘यसमा अन्य मानिसहरू पनि जोडिएको तथ्य खुलेको छ र उनीहरूको खोजी कार्य जारी छ।’

पक्राउ परेका तीनै जनाविरूद्ध अपराधिक लाभ –एक्सटर्शन कसुर अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यो बीचमा उनीहरू तीनै जनाविरूद्ध प्रहरी दुई पटक अदालतबाट म्याद थप गरिसकेको बताएको छ।

पीडित भनिएका पुरुषको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१